कांग्रेसमा पदाधिकारी मनोनयन, पौडेल पक्षको बहिष्कार


काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको बैठकमा बहुमतका आधारमा उप सभापतिमा निधि र महामन्त्रीमा खड्कालाई सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् । यसैगरी सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएका छन् ।
विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था भए अनुसार मनोनित गरिएका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार पार्टी सभापति देउवाले प्रस्ताव गरेको नाम बैठकले अनुमोदन गरेको हो। प्रवक्ता शर्माले मनोनयनका बिषयमा सहमति जुट्न नसकेपछि बहुमतका आधारमा अनुमोदन गरिएको जानकारी दिए। पौडेल पक्षले भने बैठक बहिष्कार गरिएको जनाउँदै मनोनयनप्रति पूर्ण असहमति जनाएको छ ।
पार्टी कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने आफूहरुको मत भएको बताउदै अब यसको असर सबैतिर देखिने बताए। त्यस्तै नेता प्रकाशमान सिंहले बैठक विधान विपरित भएको भन्दै केन्द्रीय समितिका सबै सदस्यलाई सहभागी गराउन माग राखेर बैठकबाट बाहिरिएका थिए। उनले बिधान र बिधीसम्मत पदाधिकारी नियुक्त गर्ने काम नभएको बताए।
त्यस्तै, काग्रेस महामन्त्री शशांक कोईरालाले पदाधिकारी चयनमा सहमति खोज्न आफु असफल भएको बताए। पार्टीको उप सभापतिमा मनोनित भएपछि कांग्रेसका नेता निधिले पार्टीभित्र रहेका असन्तुष्ट पक्षहरुलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। पार्टी सभापति देउवाको निर्देशनअनुसार पार्टीलाई बलियो बनाउने जिम्मेवारी आएको निधिको तर्क थियो। काग्रेसको विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ। विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था छ। सभापति देउवा १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्