कांग्रेसले चौथो दिन पनि संसद् चल्न दिएन


१३ असार । भूकम्पपीडितलाई एकमुष्ठ दुई लाख रुपियाँ दिनुपर्ने माग राख्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार पनि व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । कांग्रेसले यसरी सदन चल्न नदिएको यो चौथो दिन हो ।

निरन्तरको बैठक अबरोधपछि संसद् बैठक स्थगन गरेर दलहरु छलफलमा जुटेका छन् । सत्ता साझेदार दल एमाले र माओवादी प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमतिको प्रयासका लागि छलफलमा जुटेका हुन् । संसद् भवनमा भएको छलफलमा प्रधानमन्त्री ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता कृष्णबहादुर महरा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत छलफलमा सहभागी भएका छन् ।

भूकम्प प्रभावितहरुहरुलाई पुनर्निर्माणका लागि एकमुष्ट दुई लाख रुपियाँ अनुदान दिनुपर्ने कांग्रेसको माग छ । जबकि, कांग्रेसकै नेतृत्वमा सरकार भएको बेला ०७२ असोज २२ गते बनेको निर्देशिकामा चार चरणमा अनुदान दिनुपर्ने उल्लेख छ । सत्तापक्षले दाताहरुसँग पनि त्यही सर्तमा सहयोग लिइएका कारण तत्काल दिन नसकिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्