कांग्रेस जिल्ला अधिवेशनमा नेताले कार्यकर्ता कुटे


८ असार। स्थान विवादले यसअघि रोकिएको नेपाली काँग्रेस, सिन्धुपाल्चोकको १३ औ जिल्ला अधिवेशनमा संस्थापन पक्षका नेताहरुले रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुमाथि आक्रमण गरेका छन् ।

आज बाह्रविसेमा सुरु भएको अधिवेशनमा देउवा पक्षका विष्णुबहादर खत्री र कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पौडेल पक्षधार नतोहरुमाथि कुटपिट गरेका हुन् । उद्योग बाणिज्य संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका खत्री र कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ एवम् क्षेत्रीय सभापति बस्नेतले विद्यार्थी नेता वलदेव तिमिलिसना र युधिर पौडेललाई निर्घात कुटेका थिए ।
गत माघ २५ गते बाह्रविसेमा जिल्ला अधिवेशनको मिति तय भए पनि तत्कालीन काग्रेस सभापति सुशील कोइरालाको निधनपछि अधिवेशन स्थगित भएको थियो ।

केन्द्रीय महाधिवेशनअघि नै जिल्ला अधिवेशन गर्न खोजिए पनि दुवै पक्षबीच स्थान विवाद भएपछि अधिवेशन हुन सकेको थिएन । सहमति भएपछि यसअघि नै तय भएको बाह्रविसेमै जिल्ला अधिवेशन आयोजना भएको हो ।

१३ औं जिल्ला अधिवेशनमा सभापतिका लागि तीनजनाले उम्मेदवारी दिने भएका छन् । भुपेन्द्रबहादुर थापा, हरिशरण श्रेष्ठ र विकास लामाबीच प्रतिष्पर्धा भइरहेको छ । देउवा समूहबाट जिल्ला सभापतिका उम्मेदवार हरिशरण श्रेष्ठको पक्षमा लागिरहेका खत्री र बस्नेतले सभापतिका अर्का उम्मेदवार भुपेन्द्रबहादुर थापाका पक्षमा भोट मागेको भन्दै तिमिलिसना र पौडेललाई आफैँ कुटेका थिए ।

देउवा समूहका श्रेष्ठले हार्ने निश्चित भएपछि कांग्रेस केन्द्रीयसमेत रहेका मोहन बस्नेतको निर्देशनमा आफूहरुमाथि कुटपिट भएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । आफ्नो पक्षमा प्रतिनिधिहरुलाई प्रभावमा पार्ने उद्योग बाणिज्य संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका खत्रीले रकम चर्ख गरेको अन्य पक्षका नेताहरुले आरोप लगाएका छन् । आफ्नै पार्टीभित्रको अधिवेशनमा फरक धारमा लागेकै कारण कुटाइ खानु परेपछि कांग्रेस अधिवेशन तनावपूर्ण बनेको छ । आफ्नो पक्षमा जित सुनिश्चित गर्नका लागि देउवा समूहका कार्यकर्ताहरु घरेलु हातहतियारसहित अधिवेशनस्थलमा आएको रामचन्द्र पौडेल पक्षधर नेताहरुले आरोप लगाएका छन् ।

यसैबीच, अधिवेशनमा तीनै उमेदवारले स्पष्ट ५१ प्रतिशत मत ल्याउन सकेनन्। अब हरिशरण श्रेष्ठ र विकास लामाबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतिस्पर्धाबाट भुपेन्द्र थापा बाहिरिएका छन् । श्रेष्ठले २ सय ३९, विकास लामाले २ सय ४६ र भुपेन्द्र थापाले २ सय २८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्