कांग्रेस नेता पौडेल चढेको गाडी खेतमा पल्टियो, प्रत्यक्षदर्शी चिरञ्जीवी भन्छन्– ‘भाग्यले बाँचियो’


६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल चढेको गाडी सोमबार बिहान साढे ११ बजे दुर्घटनामा परेको छ । अहिले तराई दौडाहामा रहेका पौडेल सर्लाहीको कार्यक्रम सकेर सोमबार बर्दिवास हुँदै जलेश्वर जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।

जलेश्वर पुग्न करिब १० किलोमिटर बाँकी छँदै गाडी दुर्घटनामा परेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार स्टेयरिङ फेल भएर गाडी खेतमा पुगेको थियो । गाडीमा छ जना सवार रहे पनि मानवीय क्षति भने केही पनि नभएको अधिकारीले जानकारी दिए । महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले पनि पौडेल चढेको बा च ७५५५ गाडी दुर्घटनामा परेको जानकारी दिएका छन् ।
पौडेलसँगै यात्रामा रहेका अधिकारीले घटनाबारे पहिलो न्युजलाई यस्तो जानकारी दिएः
‘हामी सोमबार सर्लाहीको कार्यक्रम सकेर जलेश्वर जाँदै थियौँ । जलेश्वर पुग्न करिब १० किलो मिटर बाँकी थियो । त्यही बीचमा गाडीको स्टेयरिङ फेल भयो । गाडी खेतमा पुग्यो । उहाँ (रामचन्द्र पौडेल) अगाडिको सिटमा हुनुहुन्थ्यो । म बीचको सिटमा थिए । करिब साढे ११ भएको थियो । त्यस्तो घटना भएपछि हामी एक छिन त अलमलमा प¥यौँ । धन्न ड्राइभरको संयमताले मानवीय क्षति केही भएन । गाडी खेतमा फसेपछि तत्काल जगेडा गाडीमा राखेर उहाँलाई जलेश्वर लिएर आयौँ । अहिले सबै सकुशल छौँ । उहाँले कार्यक्रममा सम्बोधन गरिरहनुभएको छ । हामी सबै भाग्यले बाँच्यौं ।’

प्रतिक्रिया दिनुहोस्