कांग्रेस भित्रै कमजोर बन्दै देउवा, गठबन्धन धरापमा पर्ने संकेत


२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिए नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेको एक हप्ता पनि वित्न नपाउँदै गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले नै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइरहेको बेला बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले त्यसको विरोध गरेपछि गठबन्धन समस्यामा पर्ने संकेत देखिएको हो । केही दिन अघि उपलब्ध केन्द्रीय सदस्यको भेला बोलाएर देउवाले कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनाउँने सार्वजनिक गरेका थिए ।

कांग्रेसको उक्त निर्णपछि माओवादी नेताहरुले प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको भन्दै भावी सरकारमा सहभागी हुने मन्त्रीहरुको समेत नामावली गोजीमा बोकेर हिडिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर मात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएपछि कांग्रेस अनिर्णित बन्ने देखिएको छ ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतलगायतका नेता आइतबार देउवा निवास बूढानीलकण्ठ पुगेर उनको ध्यानकर्षण गराएका हुन् । भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा. महतले जानकारी दिए ।

भेटमा उनीहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिएको महतको भनाई छ ।

त्यसो त माओवादीसँगको गठबन्धनलाई देउवा पक्षबाटै महामन्त्रीको उम्मेदवार बनाइएका अर्जुननरसिंह केसीले समेत मन पराएका छैनन् । ‘राजनीतिमा भन्ने एउटा कुरा हुन्छ । औपचारिक र संस्थागत निर्णयहरु आफ्नै प्रकारका हुन्छन्’ भन्दै केसीले देउवाले गरेको एकल निर्णयको आलोचना गरेका थिए ।

उनले पहिलो न्युजसँगै कुराकानी गर्दै माओवादीलाई प्रधानमन्त्री पद दिने अवस्था आइहाले पनि शर्तसहित दिने भन्दै घुमौरो पाराले प्रचण्डको नेतृत्व स्वीकार नगर्ने संकेत गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीको दौडधुप र कांग्रेस भित्रको विवाद चुलिदै गएको अवस्था हेर्दा प्रचण्ड प्रधानमन्त्री बन्ने संभाबना कम हुँदै गएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्