कांग्रेस–माओवादीप्रति कठोर र एमालेप्रति किन नरम बन्दैछन् विजयकुमार गच्छदार ?


३२ साउन । अन्तिम समयमा केपी ओली नेतृत्वको सरकारलाई धोका दिएर समर्थन फिर्ता लिएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एमालेलाई पनि साथमै लिएर अघि बढ्नु पर्ने प्रस्ताव अघि सारेका छन् ।

पछिल्लो समय उपप्रधानमन्त्रीसहितको जिम्मेवादी दिएर सरकारमा सहभागी गराउन कांग्रेस–माओवादी सकारात्मक नभएपछि ती दलको आलोचना गर्न थालेका गच्छदाले विराटनगरमा यस्तो बताएका हुन् ।

‘एमालेलगायतका प्रमुख दललाई निषेध गरेर संविधान कार्यान्वयन हुन सक्दैन,’ उनले भने, ‘सीमाङ्कनको मुद्दा समाधान गर्न र २०७४ माघ ७ गतेअघि तीनवटा निर्वाचनका लागि राजनीतिक सहमति अनिवार्य छ ।’ उनले स्थानीय निकायको पुनःसंरचना अवैज्ञानिक र अव्यवहारिक भएकाले पुनःसंरचना आयोगको प्रतिवेदन तत्काल खारेज गर्न पनि आग्रह गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय निकायको पुनःसंरचना राजनीतिक विषय भएको र राजनीतिक दलको निर्णयका आधारमा स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने जिकिर पनि गरे ।
उनले राजनीतिक सहमतिका आधारमा न्यूनतम पनि एक हजार २०० स्थानीय निकाय बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्