कांग्रेस–माओवादीले राजदूतमा आफ्ना मान्छे भर्ती गर्न खोजे एमालेले देखाइदिन्छः ईश्वर पोख्रेल


२१ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफारिसलाई प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले त्यस्तो विरोध गरेको छ ।

एमाले महासचिव ईश्वर पोख्रेलले प्रचण्ड नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि भएका राजदूतहरु सिफारिसको निर्णय फिर्ता गर्ने निर्णय गरेर गलत काम गरेको आरोप लगाए ।

‘मैले प्रचण्ड नेतृत्वको सरकारले यस्तो निर्णय गर्यो भन्ने कुरा भर्खर सुने,’ महासचिव पोख्रेलले नेकपा (एमाले) खेलकुद विभागले राजधानीमा आयोजना गरेको एक अन्तरक्रियापछि पहिलो न्युजसँग कुराकानी गर्दै भने, ‘सरकार अभिछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो सरकारले संस्थागत रुपमा गरेका निर्णयहरुलाई पछिल्लो सरकारले पनि पालन गर्नुपर्ने नैतिक कानुनी अविभारा हो । तर, वर्तमान सरकारले जे निर्णय गरेको छ । त्यो नैतिक र कानूनीरुपमा पनि बेठिक छ ।’

उनले अघिल्लो सरकारले गरेका कामलाई उल्ट्याउने नै हो भने औचित्य पुष्टि गर्नुपर्ने पनि दाबी गरे । ‘आफ्ना मान्छे भर्ना वा नियुक्ति गर्ने उदेश्यले यो सरकारले यस्तो निर्णय गरेको हो भन्ने लागेको छ,’ उनले भने, ‘एमाले पनि उहाँहरुका निर्णयलाई हेर्दै जान्छ ।’

महासचिव ईश्वर पोख्रेलले एमालेलाई अलग्याएर कांग्रेस–माओवादी अघि बढ्न खोजे उनीहरुको त्यो उदेश्य पूरा नहुने पनि ठोकुवा गरे । ‘कांग्रेस–माओवादीको गठबन्धन स्वाभाविक छैन,’ उनले भने, ‘उनीहरुले संविधान कार्यान्वय प्रक्रियाबाट एमालेलाई अलग्याउने कोशिस गरे भने हामी पनि हेरौँ न ।’

उनले ठाँउ मात्र वदलिएको भन्दै एमालेको मिसन नवलिएकाले राष्ट्रियताका पक्षमा दर्विलो गरी उभिने चेतावनी दिए । ‘एमालेसँग हजारौँ कार्यकर्ता छन्,’ उनले भने ‘कसैले चाहेर पनि एमालेको कद होचो गर्न सक्दैन । माओवादी–कांग्रेसको गठबन्धन कसैबाट प्रेरित भएको गठबन्धन हो, यसको भविष्य त्यति उज्यालो छैन ।’

कांग्रेस–माओवादीप्रति निकै आक्रमक देखिएको पोख्रेलले एमालेलाई अलग्याए देखाइदिने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्