कांग्रेस–माओवादीले ‘सफ्ट कू’ गरे, १८ महिनापछि ब्याजसहित फिर्ता गर्छौः प्रदीप ज्ञवाली 


२२ साउन । नेकपा (एमाले) सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई ‘सफ्ट कू’ को संज्ञा दिएका छन् । एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले यस्तो संज्ञा दिएका हुन् ।

‘गएको एक–दुई हप्ता नेपालको राजनीतिमा निकै अनिष्टकारी कामहरु भएका छन्,’ ज्ञवालीले भने, ‘मुलुकलाई पछाडि धकेल्ने खालका अझ भन्ने हो भने ‘सफ्ट कू’ गर्ने काम भएको छ ।’

उनले लोकतन्त्रमा सरकार आउने–जाने कुरा सामान्य भएको भन्दै उनले अहिले कांग्रेस–माओवादीले गरेको षडयन्त्रहरु मुलुकका लागि घातक भएको आरोप पनि लगाए । ‘एक तिहाई भन्दा पनि कम संख्या रहेको एमाले नेतृत्वको सरकार कुनै पनि बेला ढल्न सक्छ भन्नेमा हामी ढुक्क थियौँ,’ उनले भने, ‘त्यसकारण हामीलाई सरकार ढलेकोमा आक्रोस, पीडा केही पनि छैन र हुन जरुरी पनि छैन ।’

ज्ञवालीले ओली सरकार नौ महिनामा ढल्यो भन्ने भन्दा पनि कुन घटनाले सरकार ढल्यो भन्ने चिन्ताको विषय भएको बताए । ‘समुन्द्रको माथि ‘आइसवर्ग’ हिउँको टुप्पा देखिन्छ, त्यो त्यति ठूलो हुँदैन,’ उनले भने, ‘तर तल यति ठूला हिउँका ढिक्काहरु हुन्छन्, त्यसले ठूला–ठूला जहाज पल्टाई दिन्छन् ।’ उनले अहिले सरकार परिवर्तनको खेल बाहिर देख्दा हिउँको टुप्पा जस्तो भए पनि भित्र ठूला–ठूला ढिस्काहरु भएको भन्दै लामो प्रयासपछि माओवादी र कांग्रेस एमाले नेतृत्वको सरकार ढाल्न सफल भएको आरोप लगाए ।

‘राम्रा काम गरे वापत एमाले नेतृत्वको सरकार ढलेको हो, हामीलाई केही चिन्ता छैन्,’ उनले कांग्रेस–माओवादीले गरेको ‘सफ्ट कू’ प्रति संकेत गर्दै भने, ‘जाबो १८ महिना त हो नि, १८ महिनापछि हामी एक–एक हिसाव गरेर व्याजसहित फिर्ता लिन्छौँ, त्यसैले हामीलाई केही चिन्ता छैन । चिन्ता देशलाई कता लैजान खोजिदैँछ भन्ने कुराको मात्र चिन्ता हो ।’

नेपाल राष्ट्रको अस्तित्व नै समाप्त पार्ने गरी केही महिनादेखि चलखेल सुरु भएको भन्दै ज्ञवालीले नेपाली जनताको सार्वभौमसत्तालाई कुल्चिन एमालेले कुनै हालतमा पनि नदिने दाबी गरे । कार्यक्रममा नेकपा एमाले मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले सामाजिक सञ्जालमा नेताहरुप्रति आरोप–प्रत्यारोप लगाउने गरी गरिएका टिप्पणीले पार्टीलाई फाइदा नगर्ने भन्दै त्यसप्रति सचेत हुन आग्रह गरे ।

कार्यक्रमम सांसद्हरु दिपक कार्की, नरेश खरेल, रविन कोइराला, नेता खगेन्द्र अधिकारी, व्यवसायी एलपी साँवा, पूर्व अध्यक्षहरु लगायतको पनि उपस्थिति रहेको थियो । सम्पर्क मञ्चका अध्यक्ष तुलसीराम मैनालीको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा पार्टीका नयाँ संगठित सदस्यहरुलाई सचिव ज्ञवालीले सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

कांग्रेस–माओवादीले ‘सफ्ट कू’ गरे, १८ महिनापछि ब्याजसहित फिर्ता गर्छौः प्रदिप ज्ञवाली


प्रतिक्रिया दिनुहोस्