कांग्रेस–माओवादी अच्छ्युँ खाएँ, बच्छ्युँ खाएँ, झुसे बारुलोः योगेश भट्टराई


८ असार । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले कांग्रेस माओवादीलाई झुसे बारुलोको संज्ञा दिएका छन् । पाँचथरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै भट्टराइृले यस्तो संज्ञा दिएका हुन् ।

‘अच्छ्युँ खाएँ, बच्छ्युँ खाएँ झुसे बारुलो,’ कांग्रेस–माओवादीप्रति संकेत गर्दै भट्टराईले भने ‘एमालेका लागि अन्य दल त्यस्तै हुन् ।’

उनले एमाले सरकारमा रहेका बेला भारतले महिनौँ नाकाबन्दी लगाउदा एमालेले कुनै विदेशीसँग नझुकी नाकाबन्दीका विरुद्ध लड्दा कांग्रेसले एक शब्द पनि बोल्ने आँट गर्न नसकेको स्मरण गराए । ‘नाकाबन्दीका विरुद्ध राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिइ लडेको पार्टी एमाले नै हो,’ उनले भने, ‘कुनै पनि भारतीयहरुका लागि हामीले संविधान बनाउन लागेका होइनौँ भनेर प्रतिक्रिया दिने पार्टी पनि एमाले नै हो ।’

उनले माओवादीको १० वर्षे हिंसाका कारण देश निकै पछि परेको पनि दाबी गरे । ‘माओवादीले त्यो खाले हिंसा नमच्याएको भए देशले निकै विकास गर्ने थियो,’ उनले भने ‘नेपाललाई जातीय राज्यमा विभाजन गर्ने प्रयास पनि माओवादीबाटै भएको हो ।’

बन्दुक वोकेर नेपाली समाजको रुपान्तरण हुन सक्दैन भनेर माओवादीलाई एमालेले पटक–पटक सम्झाउँदा पनि नसम्झिएको स्मरण गर्दै उनले भने– ‘शान्तिपूर्ण ढंगले नेपाली समाजको रुपान्तरण गर्न सकिन्छ, हिंसाको बाटोबाट समात्न जरुरी छैन भन्दा माओवादीले मानेन । पछि जनताको बहुदली जनवादको बाटोमा माओवादी आयो, जबजको जीत भयो ।’

उनले कांग्रेस जस्तो यथास्थितिवादी शक्तिलाई पनि एमालेकै पहलमा चावुक लगाएर गणतन्त्र र संघीयताको बाटोमा ल्याएको दाबी गरे । ‘अब मुलुक प्रगतिशील बाटोबाट अघि बढेको छ,’ उनले भने, ‘एमालेकै पहल र अगुवाईमा यो सम्भव भएको हो ।’

संविधान जारी गर्ने बेलामा पनि नेपालमा संविधान बनाउने बेला भएको छैन भन्दै भारतीयहरु हुल बाधेरै नेपाल आएको र माओवादी–कांग्रेसलाई पनि प्रभावमा पारेको दाबी गरे । ‘केही भारतीय बुद्धिजिवीहरु नेपाल आएर केही समय संविधान जारी नगर्न दबाब दिदैँ थिए,’ संविधान जारी गर्दा ताकाको सम्झना गर्दै भट्टराईले भने, ‘एमालेले संविधान हामीले बनाउने हो । भारतको संसदले नेपाललाई बनाई दिने होइन भन्यो । तर, कांग्रेस र माओवादी पर्खिनुपर्छ भन्नेमा थिए ।’

उनले संविधान जारी गर्न केही समय पर्खियौँ भन्नुको कारण कहिल्यै संविधान जारी गर्न नदिने षडयन्त्र थियो भन्ने भएकै कारण हतार–हतार जारी गरेको भट्टराईको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्