कांग्रेस–माओवादी छाडेर एमाले प्रवेश गरेकाहरु भन्छन्– ‘हामी भारतको भरिया होइनौँ’ (को–को प्रवेश गरे सूचिसहित)


३० भदौ । विभिन्न राजनीतिक दलमा आबद्ध ५० भन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराउनुभएको छ ।

एमालेमा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी–केन्द्रका चन्दनपुर गाउँ कमिटीका पूर्वईन्चार्ज वेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटीका अध्यक्ष सुवास तिमल्सिना र सचिव विदुर लामिछाने, नेपाली सेनाका पूर्वकर्णेल केदारनाथ दुलालसहित ५० भन्दा बढी रहेका छन् । पत्रकारिता, कलाकारिता लगायत स्वतन्त्र पेशाकर्मीसमेत एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरु कोको ?

एमाले प्रवेश गर्नेहरुमा उमेश घिमिरे (चन्दनपुर), विदुर लामीछाने, तुलसीनारायण अधिकारी, चन्द्रबहादुर गोले, कृष्णप्रसाद तिमल्सिना, राजु स्याङतान, नेमा वाइवा, नरहरि तिमल्सिना, भवनाथ तिमल्सिना, गोविन्द घिमिरे, लोकप्रसाद तिमल्सिना, विदुर घिमिरे, माधवप्रसाद तिमल्सिना, सानुभाइ सुवेदी (महालक्ष्मी नपा), विद्या प्याकुरेल, मीना राउत, राजु श्रेष्ठ पत्रकार उदय मालाकार, अञ्जली शाक्य, सरु महर्जन, केदारनाथ दुलाल (लपुउमनपा), आशिष बस्नेत (सिन्धुली), लोकेश कार्की (रामेछाप), आकृष थापा (सिरहा), अरुण चन्द (कञ्चनपुर), परु भुजेल (लपुउमनपा), रवीन कार्की (रामेछाप), निराजन शाह (कञ्चनपुर) र रोशन बोहरालगायत रहेका छन् ।

ओलीले घुँडा नटेकेपछि एमाले प्रवेश

नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे एमाले अध्यक्ष ओलीको अडानका कारण एमाले प्रवेश गरेको दाबी गरे । ‘अहिले नेपाली कांग्रेस सरकारमा छ,’ घिमिरेले भने ‘मलाई निकै आश्वासन पनि आए । तर, म लोभमा परिनँ ।’ उनले एमालेको प्रष्ट अडानका कारण एमाले प्रवेश गरेको दाबी गरे । ‘ ओली प्रधानमन्त्री हुँदा ल्याएको नीति, कार्यक्रम र बजेट जनमुखी छ,’ उनले भने ‘भारतले गरेको नाकाबन्दीका सामु उहाँ झुक्नुभएन । मलाई उहाँको त्यो अडानले एमाले प्रवेश गर्न प्रेरणा मिल्यो ।’ उनले कांग्रेस भारतको भरिया बनेको आरोप पनि लगाए ।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चन्दनपुर गाउँ कमिटीका पूर्र्वइन्चार्ज वेदनाथ घिमिरे पनि एमालेले मात्र देशलाई समृद्धिको बाटोमा अघि बढाउन सक्ने भएकाले एमाले प्रवेश गरेको दाबी गरे । ‘हामीलाई धम्की आउन सक्छ, अपहरण गर्नसक्छन्,’ उनले भने ‘यस्तो बेलामा सहयोग गर्नुहोला, हामी एमालेका सिपाही भएर काम गर्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्