कांग्रेस सपभाति भेलामा देउवा अल्पमतमा पर्दै, बहुमत सभापति पौडेल–सिटौलातिर


काठमाडौं, ४ असार । संघीयता कार्यान्वयनका क्रममा सम्पन्न तीन तहको निर्वाचनमा पराजयपछि रणभूल्लमा रहेको नेपाली कांग्रेसले आगामी रणनीति तय गर्न मंगलबारबाट हेटौंडामा तीन दिने जिल्ला सभापति भेला बोलाएको छ । निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि पराजयको ठोस कारण पहिल्याउन नसकेर रुमल्लिएको कांग्रेसले जिल्ला सभापति भेलाबाट समीक्षासहित अघि बढ्ने प्रयास गरेको हो । जिल्ला भेला असार ५ देखि ७ गतेसम्म चल्नेछ ।
भेलाका लागि कतिपय सभापति हेटौंडा जाँदैछन् भने कतिपय चाँही काठमाडौंमा गुट–उपगुटको रणनीति बनाउन ब्यस्त छन् । आईतबार नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर सभापतिहरुको भेलाले सभापति शेरबहादुर देउवाको असक्षमताको फेहरिस्त तयार पार्दै आक्रमक ढंगले प्रस्तुत हुने तयारी गरिरहेको छ । पौडेल र सिटौला पक्षको पछिल्लो समिकरणपछि कार्यकालै पूरा नगरी देउवाको कुर्ची हल्लिने प्रष्ट संकेत देखिएको छ ।
भातृ र शुभेच्छुक संगठनहरुमा लगातार पराजयको शृंखला पछिल्लो पटक ट्रेड युनियन कांग्रेसमा प्रकट भएसँगै जिल्ला सभापति भेलामा पनि सभापति शेरबहादुर देउवा अल्पमतमा पर्ने प्रष्ट संकेत देखिएको छ । यसले चौधौं महाधिवेशनअगावै देउवाको कुर्ची हल्लिने संकेतका रुपमा राजनीतिक बिश्लेषकहरुको दाबी छ ।
कांग्रेस निकट स्रोतका अनुसार अहिले ७५ जिल्ला सभापतिमध्ये पौडेल र सिटौला पक्षमा खुलेर ४३ जना उभिएका छन् । तीमध्ये ३७ जना पौडेल र ६ जना सिटौला निकट छन् । देउवाको पक्षमा भने ३२ जना मात्र सभापति छन् । सभापति भेला कुनै वैधानिक निकाय नभएको र कुनै ठोस विषयमा मतदान नहुने भए पनि यो अंकगणित देउवाका लागि फलामको च्यूरा चपाउनु सरह रहेको बताइन्छ । किनभने भेलामा देउवाको असक्षमताको विषय निक्कै चर्को रुपमा उठ्नेछ ।
पराजयको जिम्मेवारी लिएर पद त्याग गर्नुपर्ने पौडेल–सिटौलाको लाईनमा गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेलसहितको युवाहरुको ठूलो पंक्ति उभिएको छ । देउवा दिनप्रतिदिन कमजोर बन्ने संकेत देखिएका बेला कोइराला परिवारका नेताहरु भने एकजुट बनेर ‘न्युट्रल’ भूमिकामा देखिन खोजेका छन् । केही दिनअघि महामन्त्री शसांक कोइराला र शेखर कोइरालाको भेटघाटलाई त्यही कडीका रुपमा बिश्लेषण गरिएको छ । खासगरी शसांक देउवाको समर्थन लिएर अर्को महाधिवेशनबाट सभापति बन्ने दाउमा छन् । पौडेल र सिटौला पक्षलाई पनि धेरै नचिढ्याउने तर घुमाउरो तरिकाले देउवाकै स्वार्थअनुसार अघि बढ्ने रणनीतिमा उनी रहेका छन् । देउवाबिरुद्ध आक्रमक रहेका शेखरको भूमिका सभापति भेलामा कस्तो देखिने हो, यसै भन्ने स्थिति देखिन्न ।

प्रतिक्रिया दिनुहोस्