काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन


२३ भदौ । व्यवस्थापिका–संसद् विकास समितिले प्रस्तावित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउनेबित्तिकै जहाज अन्यत्र पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै निर्माणका क्रममा रहेका विमानस्थको निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिइएको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

यस्तै समितिले मुलुकको विकासलाई आधारभूत रुपमा योगदान दिनसक्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रका महत्वपूर्ण आयोजनाको निर्माण सरकार स्वयम्ले आफ्नै साधन र स्रोतबाट अगाडि बढाउनु उपयुक्त हुने समितिले ठहर समेत गरेको छ ।

समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माणका लागि आवश्यक सहजीकरण गर्न तथा प्राविधिक जनशक्तिसहितको विशिष्टिकृत आयोजना कार्यालय स्थापना गरी आयोजना सम्पन्न गर्न आवश्यक बजेटको समेत व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सरकारले प्रस्ताव गरेको महत्वपूर्ण आयोजना स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनामा रहेको बताए ।

उनले द्रुतमार्गको काम अगाडि बढ्ने र त्यसको आवश्यक तयारी गरिरहेको उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको प्रमुख प्राथमिकतामा रहेको भन्दै छिट्टै शिलान्यास गरिने बताए । बैठकमा सांसदले राष्ट्रिय महत्वका आयोजनामा भइरहेको ढिलाइका बारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्