काठमाडौंबासीको स्वाद


–विवश वस्ती

‘अंकल, यसपालि चाहिँ इस्टकोटलाई भोट दिनुस् है’ भर्खर जुँगाको रेखी बस्दै गरेका एउटा किशोरले सडकमा हिँडिरहेकै बेला यस्तो अनुरोध गरे । र, मेरो हातमा इस्टकोट लगाएकी रञ्जु दर्शनाको तस्विरअंकित अपिल पनि थम्याइदिए । उनले यति मात्र गरेनन्, मेरो मोबाइल नम्बर पनि टिपे र भने, ‘हामी तपाईसँग सम्पर्कमा रहन्छौं ।’

अहिले काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । निकै सुस्त गतिमा मतगणना भइरहे पनि अग्रता भने एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले नै लिइरहेका छन् । केही वडाका मात्र मत परिणाम बाहिर आएको छ । काठमाडौंबासीले आफ्ना मेयर र उपमेयर पाउन अझै केही दिन व्यग्रतापूर्वक प्रतिक्षा गर्नैपर्ने भएको छ ।

तर, विवेकशीलकी रञ्जुलाई जिताउन भोट माग्दै हिँडेका ती किशोरले कबुल गरेजस्तै चुनावअघि मेरो ‘सम्पर्क’ मा आएनन् र अहिलेसम्म पनि आएका छैनन् । तर, रञ्जुले भने काठमाडौंमा आफ्नो राजनीतिक र सांगठनिक आधार दह्रो भएको भ्रममा रहेका दलहरुलाई नराम्ररी चक्मा दिइरहेकी छिन् । दोस्रो संविधानसभाको निर्वाचनमा महानगरपालिकाका अधिकांश निर्वाचन क्षेत्रहरुमा जितेका काँग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीलाई कुनै दलगत मान्यता नपाएको विवेकशील र त्यही दलबाट उठेकी भर्खरकी किशोरीले पछ्याउनु सामान्य विषय होइन ।

यस पटक नागार्जुन डाँडामुनिको बस्ती बोहराटार आसपास ठूला राजनीतिक दलका उम्मेद्वार र तिनका कार्यकर्ताहरु मत माग्न खासै पुगेनन् । सायद प्रचार प्रसारको अवधि कम भएको हुँदा सबै मतदाताका घरदैलो टेक्ने सौभाग्य ती दलका उम्मेदवारहरुलाई जुरेनन् । तर, रञ्जुका ‘टिनएजर्स’ कार्यकर्ता भने छ्यापछ्याप्ती देखिए । उनीहरु घर–घर पुगेर यसपालि नै मतदाता सूचिमा चढेकाहरुका साथै युवाहरुलाई आव्हान गर्थे, ‘अब हामीले युवालाई जिताउनुपर्छ ।’ वृद्ध–वृद्धा मतदाताको मन पगाल्न पनि उनीहरुले कसरत गरे । र, प्रमुख राजनीतिक दलप्रति वितृष्णा भाव पैदा गराउन रञ्जुका कार्यकर्ताहरुले अथक प्रयत्न गरे ।

तर, रञ्जुले बटुलेको मतले काठमाडौंबासीहरु विकल्पको खोजीमा अहिले नै तम्तयार छन् भन्ने सन्देश त प्रवाह गर्दैन तर हरेक निर्वाचनमा नौलो स्वाद चाख्न बानी लागिसकेका काठमाडौंबासीहरुले यस पटक पनि फरक स्वाद चाख्ने ध्येय भने निश्चय नै सँगालेको अनुभूत गर्न सकिन्छ । सधैंभरि मःमः, चाउमिन, चटामरी खाँदा वाक्क भएका काठमाडौंबासीले केही महँगै भए पनि अमेरिकाबाट भित्रिएको केएफसीको चिकेन, पिज्जाहटको पिज्जा र अरु फरक स्वाद चाख्ने मन गर्न खोजेका यस पटकको निर्वाचन परिणाम आउँदै गर्दा स्वतः थाहा हुन्छ ।

प्रमुख राजनीतिक दलहरुले काठमाडौंबासीलाई नयाँ–नौलो स्वाद चखाउन गल्ती गरेकै हुन्, काठमाडौंलाई दोहन गर्न चाहेकै हुन् । एउटा उदाहरण ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नागार्जुनमुनिको बोहराटारमा दशकदेखि बस्दै आएका छन् । तर, उनको प्राथमिकतामा बोहराटारका उप्किएका सडकहरु कहिल्यै परेनन् । पटकपटक मन्त्री भएका पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँमा नै सडक पुर्याए, पिच गर्न बजेट खन्याए । बोहराटारका उप्किएका सडकलाई पिच गर्नुको अर्थ पनि छैन, किनकि उनले बोहराटारका जनताले भोट दिएर चुनाव जित्ने होइनन् ।

नेता पौडेलका जस्तै समस्या अरु दलका नेताहरुलाई पनि छ । सबै राजनीतिक दलका ठूला नेताहरु काठमाडौंमा आलिशान महल बनाएर बसेका भए पनि उनीहरु आफ्नै निर्वाचन क्षेत्रमा नै बजेट खन्याउन चाहन्छन् । एकाध बाहेक अधिकांश नेता चुनाव लड्न उपत्यकाबाहिर नै जान्छन् । भोट–केन्द्रित राजनीति र विकासले निम्याउने समस्याको पीडा झेल्न काठमाडौंबासीहरु बाध्य छन् । बरु, रञ्जुहरु काठमाडौंबासीको मत पाउन किन सक्षम ठहरिन्छन् भने उनीहरु भ्रष्टाचार विरोधी कुरा गर्छन्, नेताहरुको चर्को बदख्वाइँ गर्छन् र समाज सुधार्ने कुरा गर्छन् । दलहरुका क्रियाकलाप देखेर आजित भएका जनताले युवा पुस्ताका आकर्षक कुराप्रति लठ्ठिनु र परिवर्तन चाहने युवा पुस्ताले पनि रञ्जुहरुका कुरामा विश्वास गर्नु अनौठो मान्न सकिने विषय होइन ।

रञ्जुको उकालो लाग्दो मतग्राफ संस्थागत रुपमा राजनीति गरिरहेका दलहरुका निम्ति आगामी दिनमा गहिरो चुनौती बन्न सक्ने देखिन्छ । तर, त्यसअघि नै राजनीतिक दलहरुले काठमाडौंबासीको स्वादमा आइरहेको परिवर्तनलाई भने पहिल्याउनै पर्छ । अब, ‘नानीमैयाँ दाहाललाई जिताउने र कृष्णप्रसाद भट्टराईलाई हराउने’ भनेर काठमाडौका जनताको मत–सन्देशलाई खिस्याउने, अवमूल्यन गर्नेजस्ता कमजोरी दलहरुले देखाउनु व्यर्थ छ । अन्ततः काठमाडौंबासीहरुमा बदलिँदै गइरहेको स्वादको मनोविज्ञान बुझेर कदम चाल्न सक्नेले नै बाजी मार्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्