काठमाडौंमा सुरक्षा व्यवस्था चुस्त, चैत १५ यता ५ हजार, ६ सय ३३ नियन्त्रणमा


२४ वैशाख । स्थानीय तहको निर्वाचन घोषणा भएपछि काठमाडौंमा मात्रै प्रहरीले साढे पाँच हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताएको छ । देशको राजधानीको सुरक्षा संवेदनशीलतालाई बुझेर काठमाडौं प्रहरीले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

महानगर प्रहरी परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जनाएका छन् । यसका साथै, निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यले गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

काठमाडौं प्रहरीले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्