काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समय सीमाभित्रै सकिन्छ : सेना

काठमाडौं, १० मंसिर । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समय सीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।
७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।
सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।
हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ । राजधानी दैनिकबाट