काठमाडौं, भरतपुर र पोखरापछि अब पूर्वका १४ जिल्लामा हर्न निषेध


१ असोज । प्रदेश नं १ का १४ जिल्लामा असोज १ गतेदेखि अनावश्यक रुपमा हर्न बजाउन नपाइने भएको छ । १४ जिल्लाका स्थानीय प्रशासनको निर्णयानुसार सबै जिल्लामा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।

अब ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन पाइँदैन । सोहीअनुरुप सबै जिल्लामा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ भने यातायात व्यवसायीलाई समेत पत्राचार गरी कार्यान्वयनका लागि अनुरोध गरिएको छ ।

यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो । सामान्य अवस्थामा पनि चालकले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न हर्न बजाउन प्रतिबन्ध लगाइएको हो ।

यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन । तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ ।

नियम पालना नगरे पहिलोपटक ५ सय, त्यसपछि क्रमशः एक हजार र एक हजार ५ सयसम्म जरिवाना गर्न सकिने जनाइएको छ । यसअघि, काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिकामा पनि हर्न निषेध गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्