काठमाडौका सात ठाउँमा मात्र सभा जुलुस गर्न पाइने


काठमाडौं, १४ असार । सरकारले काठमाडौंका सात ठाउँबाहेकका स्थानमा सभाजुलुससहितका सार्वजनिक कार्यक्रम गर्न निषेध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले राजधानीलार्इ थप व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय लिएको बताए ।

यो व्यवस्थाका बारेमा सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै मन्त्री थापाले भने, ‘हामीले देशको शान्ति सुरक्षा र सवारी साधनको व्यवस्थापनका लागि सात ठाउँमा मात्र कार्यक्रम गर्न पाउने व्यवस्था गरेका हौं । अन्यन्त्र ठूलो भेलासहितका कार्यक्रम भए कारबाही हुनेछ ।’
यसैबीच सरकारले उपत्यकाका १४ स्थानमध्ये काठमाडौंका सात, लतिपुरका ६ र भक्तपुरको एक स्थानलाई सार्वजनिक कार्यक्रम गर्न पाइने स्थान तोकेको छ । काठमाडौंको खुल्लामञ्च, तीनकुनेको खुल्ला चौर, टुँडिखेल, पेप्सिकोलाको खुल्ला चौर, सानो गौचरण, सिफलको गौचरन, लैनचौरस्थित समाजकल्याण परिषदको कार्यालय परिसरमा मात्र सभा जुलुस गर्न पाउने व्यवस्था लागू गरेको हो ।

त्यस्तै सभा जुलुसका लागि ललितपुर जिल्लाका ६ स्थान तोकिएको छ । ललितपुरको च्यासल खेलमैदान, गोदावरीको बसपार्क नजिकैको खुल्ला ठाउँ, भैंसेपाटी, बज्रबाराहीको खुल्ला चौर, लुवुको लामाटार र धोवीघाटको महापोखरीलाई सभाजुलुस गर्ने स्थानको रुपमा तोकेको छ ।

त्यस्तै भक्तपुरमा भने सल्लाघारीस्थित नेपाल ट्रस्टको खुल्ला स्थानमा मात्र कार्यक्रम गर्न पाउने व्यवस्था लागू गरेको छ ।

सरकारले माइतीघर मण्डलालगायतका सर्वसाधारणको चहलपहल रहने, सवारी साधनको जक्सन क्षेत्रमा सभा जुलुस गर्न नपाउने योजना ल्याएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्