कानुनका विद्यार्थीको चिन्ता : अहिले प्रधानमन्त्रीको कदम सदर भए हरेक प्रधानमन्त्रीले संसद्को गला निमोठ्ने छन्


काठमाडौं, ११ माघ । २५ वर्षीय समृत खरेल कानुन व्यवसायी होइनन्, कानुन अध्ययनरत विद्यार्थी हुन् । उनको उमेरका कैयौं युवामा राजनीतिप्रति सकारात्मक धारणा र चासो भेटिँदैन ।

राजनीतिक विषयमा उमेर समूहका अधिकांशको प्रतिक्रिया हुन्छ, ‘आई हेट् पोलिटिक्स !’ तर, समृत र नेपाल ल क्याम्पसमा बिए एलएलबी पाँचौं वर्षमा अध्ययनरत उनका साथी सुलभ खरेलको राजनीतिक चेतना र अभ्यास यस्तो छ जसले अहिलेका युवाबारे सामाजिक धारणा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।

समृतले सर्वोच्च अदालतको पोडियममा प्रतिनिधिसभा विघटनबारे बहस गरे, त्यसले सबैको ध्यान तान्यो । तर, त्योभन्दा ठूलो विषय यो उमेरका युवामा संसद्, संविधान र राजनीतिप्रति ज्ञान, चेतना र बहस गर्ने क्षमता छ भन्ने देखिएको छ, त्यसैले देशको भविष्य सचेत पुस्ताको काँधमा छ भन्ने सुनौलो सन्देश पनि प्रसार भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा ‘प्रतिनिधिसभा विघटन’ गरेपछि यो कदम संविधानअनुरूप वा विपरीत भन्ने विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सर्वोच्चमा १३ रिट परेका छन्, इजलासमा रिटमाथि बहस जारी छ ।

बहसको सबैभन्दा सुन्दर पक्ष के छ भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि २५ वर्षीय युवा समृत खरेलसम्म संवैधानिक इजलासमा उपस्थित छन्, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम सदर भएमा भविष्यमा हरेक प्रधानमन्त्रीले संसदको गला निमोठ्नेछन् भनेर यी दुवै पुस्ता चिन्तित छन् ।

समृतलाई थाहा छ, अहिलेका युवालाई राजनीतिप्रति नकारात्मक धारणा राख्छन् । ‘हो, अहिलेको राजनीतिप्रति युवाको मात्रै होइन, आमसर्वसाधारण नागरिकको पनि रुचि घट्दै गएको छ । कारण तमाम छन् । तर, त्यसो भन्दैमा व्यवस्था र संविधानमाथिको प्रहारलाई हेरेर बस्न मिल्दैन’, खरेलले हामीसँग भने, ‘हामी मुकदर्शक बने न्याय, स्वतन्त्रता र अधिकार प्राप्तिका लागि फेरि लामो संघर्ष गर्नुपर्छ । त्यसले सबैलाई घाटा गर्छ ।’

उनलाई यतिवेला आमसर्वसाधारणमा राजनीतिप्रति वितृष्णा बढ्नुको जिम्मेवारी थोरैधेरै सबैको भागमा परे पनि मुख्य दोष राजनीतिक दल र तिनका नेतृत्वको हो भन्ने लाग्छ । ‘हरेक युवा भविष्य हेरिरहेको हुन्छ, वृद्धले वर्तमान मात्र । तर, यहाँ त हरेक दिन नेताले भाषण गर्दा सत्ता र शक्तिको विषयलाई प्राथमिकतामा राख्छन् । त्यसैले युवाले आफू राजनीतिको प्राथमिकतामै परेको देख्दैन । त्यसपछि उसलाई लाग्छ– राजनीति मेरा लागि होइन ।’

समृतको प्रश्न छ, खासमा प्रश्नै–प्रश्न छन् । उनले प्रश्नको लहरो यसरी ताने, ‘जब कुनै नागरिकले आफ्नो भूमिका, स्थान र प्राथमिकता नै राजनीतिमा भेट्टाउँदैन भने युवा होस् वा वृद्ध, उसलाई वितृष्णा नजागेर कसरी आकर्षण हुन्छ ?’

उनी एक दिनअघि मात्रै नेकपाको प्रचण्ड–माधव नेपाल समूहले राजधानीमा गरेको कार्यक्रमको उदाहरण दिँदै थिए, ‘त्यति ठूलो कार्यक्रममा हजारौँ मानिस भेला गरिएको छ । दूरदराजका मानिस सहभागी भएका छन् । तर, नेताले भाषण गर्दा कुनै अर्को एक जना नेताको मात्रै आलोचना गरिरहेका छन् । उनले अझै अगाडि सरेर भने, ‘यस्तो जाडो मौसममा त्यति टाढादेखि आएको एक जना सर्वसाधारणले त्यहाँ भएको भाषणमा आफूलाई कहाँ पायो होला ?’ लाग्छ, उनका प्रश्नको जवाफ खोज्नु नै अहिलेको मूल राजनीतिक जिम्मेवारी हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्