कानुन निर्माण संसदको पहिलो प्रथामिकता :अध्यक्ष तिमिल्सिना


काठमाडौं, २६ वैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि जापानका राजदूत माशाशी ओगावाबीच शिष्टचार भेट भएको छ ।
आफ्नो साढे चारवर्षको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत ओगावाले बुधबार सिंहदरबारस्थित सचिवालयमा भेटघाट गरेका हुन । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेकोमा राजदुत ओगावालाई बधाई व्यक्त गरे ।
तिमिल्सिनाले यो अवधिमा नेपालले भूकम्प, संविधान निर्माण र नाकाबन्दीको सामना गरेको बताउँदै सो क्रममा राजदूत मार्फत जापानबाट प्राप्त सहयोगको प्रशंसा गरे । त्यसैगरी जापान सरकारले पूर्वाधार निर्माण शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको सहयोगले नेपाल लाभान्वित भएको बताए ।
त्यसैगरी संविधानअनुसार बन्नुपर्ने सयभन्दा बढि कानुन निमार्णमा प्रथामिकतासाथ संसद जुटिरहेको र देश अब समृद्धितर्फ उन्मुख भएकाले त्यसका लागि मित्रराष्ट्रहरुको सहयोग र साथ हुने विश्वास व्यक्त गरे । नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशबीच संसदमैत्री समूह गठन गरी सांसदहरुको भ्रमण तथा अनुभव आदानप्रदानमा पहल गर्ने बताए ।
जापानका राजदूत ओगावाले संविधानअनुसार बनेको सबै संरचनाको निर्वाचन सम्पन्न गरी कार्यन्वयनतर्फ लागेकाले नेपालले स्थिरता र समृद्धिको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्