कान्छी भट्टराईको थाप्लोमा सौता थपिइन्


— प्रोल्लास सिन्धुलीय

‘हेर्नू न बजै यिन्ले मलाई कुट्याकुट्यै गर्छन् ।’ काली दौडिँदै, चिच्च्याउँदै घरभित्र छिरिन् । पछिपछि दौडिरहेका राम अझै कालीमाथि झम्टन खोज्दै थिए, आमाले ढुङ्ग्रीको झटारो हानिन् ।

‘मलाई टोकेर भागेकी हैनस् ? तँलाई पख्न ।’ उनी मुर्मुरिए ।

‘ओई, तँ यहाँबाट भाग्छस् कि फेरि हानौँ झटारो ?’ अँगेनुको अगुल्टो थुतेर आमा चिच्च्याइन् ।

‘सक्नेले तेसैलाई हान्नू नि । तेसैले टोकेकी त हो नि पैला ।’ फुत्त आँगनमा निस्केर कराए उनी पनि ।

‘हैन ब्यारेऽऽ ? मैले केही ग¥या हैन के । यिन्ले नै ‘कान्लाबाट खँदेर्दिन्छु’ भन्या हुन् पैला १ मैले ‘बजैलाई भन्दिन्छु’ भने’सि कुट्न थाल्या हुन् ।’ कालीले स्पष्टीकरण दिइन् ।

‘बजिनी, ढाँट्छेस ? तैँले टोक्या हैन ? यी अझै रातै छ ।’ उनी मुर्मुरिए ।

‘तिम्ले हान्या हैन पैले ?’ काली पनि के कम ।

‘यिनरू त कुकुर–बिरालाजस्तै छन् । कत्ति झगड्न सक्या हँ ? ओई काली ? तँ खुरुक्क घर आउँछेस् कि तेरो पिँडुलाको मासु झार्नुप¥यो मैले ? बजैलाई कत्ति सतौन सक्छौ हँ तिमरू ?’ कालीकी आमा आफ्नै घरको आँगनबाट चिच्च्याइन् ।

‘हुन्दे ठूली हुन्दे । जति ठूला भए, उत्ति हैरान पार्ने त रै’छन यिनर्ले ।’ कान्छीबजैले चित्त बुझाइन्, ‘यिनर्को उमेराँ हाम्रो ब्या भैसक्या थ्यो ।’

यो घरमा दुलही बनेर भित्रिँदा भर्खर बाह्र टेकेकी थिइन् उनले । औँलो भाँचेर गनिन्, ‘एक बीस, चार हुन लागेछ ।’ अनि, छोरोको उमेर गनिन्, ‘जेठीभन्दा दस वर्षजति कान्छो होला यो । त्यस्को ब्या भाकै यस्पालिको हिउँदले सात वर्ष भो । त्यो बेलाँ तीन पनि पुग्याथेन यो ।’

कालीकी आमासँगको गन्थनै गन्थनमा साँझ प¥यो । लोग्ने आएपछि बल्ल उनले साँझबत्ती बालिन् । भट्टराई कान्छाले भने, ‘काइँलीको घरमा भोलि सराद्धे छ अरे भनेर खबर पठाका रै’छन्, तँ जान्छेस् कि म जौँ ?’

‘आऽऽ आफूलाई यतैको चटारो छ । गाईबाख्रा सँगै पछि लगौनु पर्छ । तपैँ भए फुक्काफाल मान्छे । फुत्त पुगि हाल्नुहुन्छ । सराद्धे त हो नि, त्यस्तो मरिहत्ते के नै गर्नुपर्छ र ?’

‘भन्छेस् तँ पनि । त्याँ एक्ली मान्छे । केटाकेटी मसिनै छन् । गारोसारोमा बोल्दिने क्वै छैन ।’

‘त्यै भ’र त जानू भन्या हजुर्लाई । तपैँ भा’छि ऊ नि’ दङ्ग पर्छे ।’

‘पर्छे दङ्ग । चेपारे पार्छे।१ कम्तिकी चेपारे छे त्यो ।’

भोलिपल्ट सखारै कान्छा भट्टराई सालीको गाउँतिर उकालो लागे । कान्छीबजैकी सानिमाकी छोरी थिइन् काइँली । नाताले पनि र सम्बन्धले पनि उनी त्यो परिवारसँग नजिक थिइन् । श्रीमान गुज्रिएपछि तिनी सहाराविहीनजस्ती भइन् । नजिकको भने पनि, माया गर्ने भने पनि यिनै थिए, दिदी–भिनाजु । अप्ठेरो, साँघुरोमा हात फैल्याउनु उनको अधिकारै भयो । समयसँगसँगै कान्छा भट्टराईको त्यता आउने–जाने क्रम भने बिस्तारै बाक्लिँदै गइरहेको थियो ।

‘बच्चा बिमार रहेछ’, ‘गोठ बनाउन थाल्या रै’छन्’ आदिआदि भनेर आठ–दस दिन उतै बस्नु ठूलो कुरो हुन छाड्यो । गाइँगुइँ हल्ला कान्छीको कानमा नपरेको त हैन, तर उनले त्यसलाई त्यति चासोका रूपमा लिन रुचाइनन् ।

सधैँ कुनै न कुनै पत्याउने खालकै बहाना बनाएर लोग्ने सालीको घरतिर लहसिन्थे । त्यस पटक भने ‘शहरतिर जान्छु’ भनेर हिँडेका, ‘सालीको घरतिर लागे अरे’ भन्ने सुनियो । चौध–पन्ध्र दिन उनी आएनन् । अर्को दिन आइपुगे, लालाबालालाई अघि लगाएर ।

‘बच्चाले ठाउँ पनि हेर्छन्, मुख पनि फेर्छन् । यता घरमा मैले सिन्को भाँच्दिने ग¥या छैन । यो काइँली भई भने हाम्री कान्छीलाई पनि आड हुन्छ । यिनरू पनि अलपत्रजत्तिकै रै’छन् ।’

छिमेकीसँग लोग्नेले गरेको यत्ति संवाद सुनेकै भरमा जस्ताको तस्तै पत्याइदिइन् कान्छीले । उनीसँग त कसैले केही भन्दै भनेनन् । भन्नु जरुरी नै सम्झेनन् ।

आफूलाई चित्त बुझ्ने होस् कि नहोस्, लोग्नेले गर्ने हरेक कुरामा कान्छीको सदैव मौन समर्थन रहन्थ्यो । जस्तोसुकै अवस्था आए पनि लोग्नेसँग मुख लाग्ने साहस उनले कहिल्यै गरेकी थिइनन् । अथवा भनूँ, लोग्नेसँग गलफत्ती गर्नु उनको धर्म थिएन । छरछिमेकीले ‘सोझी रहिछौ, लाटी रहिछौ, कुरा बुझ्दिन रहिछौ’ आदिइत्यादि भनिरहे । तर, कान्छीले न लोग्नेतिर औँला उठाउने हिम्मत गरिन्, न सानिमाकी छोरी, बैनीलाई केरकार गर्ने रहर नै ।

जीउज्यानले भने काइँली लोग्नेमान्छेजत्तिकै बलियी थिइन् । बडेमाको मूढो काँधमा जुरुक्क उठाएर ल्याउन अनि बन्चरो चलाएर दाउरा चिर्न कुनै लोग्नेमान्छे चाहिँदैनथ्यो । ठूल्ठूला रूखमा चढेर घाँस झार्न होस् या कोदाली चलाएर आली लाउन होस्, लाठे खोज्नुनपर्ने भयो ।

काइँली आएपछि आङै हलुङ्गोजस्तो भएको थियो कान्छीको । घरबाहिरका सारा काम काइँली एक्लैले निप्ट्याइदिन्थिन् । भातको भाग पनि ठूलै चाहिन्थ्यो, लाठेलाई जत्तिकै । काम पनि लाठेले जसरी नै गर्थिन् ।

यस्तैयस्तैमा केही दिन बितेर गए । अरूले जे भने पनि रोइकराई गर्नुपर्नेले नगरिदिएपछि, रिसाउनुपर्नेले नरिसाइदिएपछि, चित्त दुखाउनुपर्नेले नदुखाइदिएपछि त्यो सामान्य हुँदोरहेछ ।
००

निकै अबेला गरी धन्दा सिद्धिएको थियो त्यस दिन ।

दिनभरिको थकानले निद्रा पनि असाध्यै मिठो लाग्यो कान्छीलाई । मध्यराततिरको घद्र्याकघुद्रुक आवाजले भने उनको निद्रा खुल्यो । ‘गाईबाख्रा फुस्किएछन् कि ?’ उनी उठेर गोठतिर लागिन् । तर, त्यहाँ जस्ताको तस्तै रहेछ । फर्केर ओछ्यानमा आएर पल्टिन् । कतैबाट आइरहेको लगातारको मसिनो आवाजतिर उनको ध्यान गयो ।

कान्छी फेरि उठिन् । ओछ्यानमै बसिन् र श्वास रोकेर कान थापिन् । लोग्नेको कोठातिरबाट आएको जस्तो लाग्यो त्यो आवाज । लोग्नेको कोठाको ढोका आधी खुला रहेछ । सिधै पस्न अलिक सङ्कोच लाग्यो । यसो टाउको छिराएर हेरिन् । आवाज त्यहीबाट आएको रहेछ ।

त्यो मध्यरातमा काइँली त भिनाजुलाई ‘तेल घस्दै’ रहिछन् । कान्छी चुपचाप फर्किन् आफ्नै ओछ्यानमा । उनी आएको, गएको, चिहाएको कसैलाई पत्तै भएन ।

बिहान कान्छी उठ्नुभन्दा पहिले नै काइँली साविकझैँ घरधन्दामा जुटिसकेकी थिइन् । रछ्यानमा भाँडा मस्काउँदै गरेकी काइँलीलाई उनले शिरदेखि पाउसम्म एक पटक अनौठोसँग नियालिन् । रित्तो सिउँदो, खाली घाँटी, विधुवा वस्त्र ।

चुपचाप भित्र छिरिन् । सन्दुकबाट सिन्दूरको बट्टा, पोते, धागो र राता चुराहरू लिएर आइन् । काइँली भाँडा माझ्ने काम सिध्याएर हातमुख धुँदै रहिछन् ।

‘लगा यो । आजदेखि मैले तेरो विधुवा अनुहार देख्नुनपरोस् ।’ काइँलीको हातमा ती सामान थमाइदिँदै कान्छीले थपिन्, “के ट्वाल्ल परिरा’की । जा, भित्र ग’र लगा’र आइज ।’

अर्थात्, कान्छी भट्टराईले काइँलीलाई आफैँले आफ्नी सौता घोषणा गरिदिइन् ।

कुनै लुछाचुँडी भएन । कुनै भुत्लाभुत्ली भएन । कुनै चर्काचर्की पनि सुनिएन । गाउँ शान्त थियो । त्यस्तै शान्तिका बीच कान्छी भट्टराईको थाप्लोमा सौता थपिइन् । र, थपिए झड्केला छोराछोरी पनि ।
००

(आज लोकार्पण हुन लागेको सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’ को एक अंश)

प्रतिक्रिया दिनुहोस्