काबुल घटना निन्दनीय र जघन्य अपराधः प्रधानमन्त्री


६ असार । अफगानिस्तानको काबुलमा सोमबार बम विस्फोटमा परी १४ नेपाली मारिएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नै एक विज्ञप्ति जारी गरी यस्तो दुःख व्यक्त गरेका हुन् ।
‘अफगानिस्तानको राजधानी काबुलमा आज बिहान सबेरै आतंकबादीहरूको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा ७ जना नेपालीहरु घाइते भएको घटना बाट म अत्यन्त मर्माहत र दुखित भएको छु,’ ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद घडीमा दिवंगत नेपाली दाजुभाईहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रधानमन्त्री ओलीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । ‘रोजगारीको सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो,’ उनले भनेका छन्, ‘म यस घटनाको घोर भत्सर्ना र निन्दा गर्दछु । साथै, यस घटनाको पछाडि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिस्वास छ ।’
उनले आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता रहेको पनि उल्लेख गरेका छन् ।
‘घटनाको तथ्य विवरण लिन तथा मृतकहरुको सव नेपाल फिर्ता पठाउन, घाइतेहरुको स्वास्थ्योपचार सुनिश्चित गर्न, तथा अन्य आवश्यक कार्यहरुको लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावासबाट आवश्यक कार्य सुरु भईसकेको व्यहोरा समेत सबै नेपाली दाजुभाई तथा दिदीबहिनी समक्ष अनुरोध गर्न चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘ साथै, यस कार्यमा मित्र राष्ट्र अफगानिस्तानको सरकार र अन्य सम्बन्धित क्षेत्रबाट आवश्यक सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्