काभ्रेका १४ वर्षमुनिका युवा उमेर बढाएर राहदानी बनाउछन्


, ४ असोज । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि गाविसका बासिन्दाले उमेर बढाएर राहदानी बनाउन थालेका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारले वैदेशिक रोजगारीका लागि त्यसरी राहदानी बनाएको डाँडापारि गाविस मिल्चेका प्रेम तिमल्सिनाले जानकारी दिए । ‘विद्यालय गए पनि शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरी जन्मदर्ता सच्याएर बनाउने र त्यसकै आधारमा नागरिकता लिएर राहदानी बनाउने परम्परा जस्तै भएको छ’ उनले भने ।

डाडाँपारिस्थित गोकुले गाविसका सचिव नुमानन्द अधिकारीले काठमाडौँमा इँटाभट्टामा काम गर्न र वैदेशिक रोजगारीका लागि १४ वर्षमुनिका युवा नागरिकता तथा राहदानीका लागि गाविसमा धाउने गरेको स्वीकार गरे । उनले एक युवकलाई दुई वर्षपछि आउनू भन्दै फर्काइएको जानकारी दिँदै अझै पनि अधिकांश साना साना देखिन्छन् तर पहिले नै जन्म दर्ता गरेर आएका हुन्छन् भने ।
जिल्ला प्रशासन कार्यालय, धुलिखेलका अनुसार आव २०७२÷०७३ मा राहदानी बनाउन ११ हजार ५८१ जनाले फाराम भरेका छन् भने द्रुत सिफारिस लिनेको सङ्ख्या पाँच हजार २३० छ । राहदानी बनाउनेमध्ये ९० प्रतिशत मात्रै युवा छन् । रासस

प्रतिक्रिया दिनुहोस्