काभ्रे दुर्घटना घाइतेहरुको शीघ्र उद्धार र उपचार गर्न एमालेको माग


३१ साउन । नेकपा (एमाले) स्थायी समितिको बैठकले सोमबार काठमाडौँबाट काभ्रेको मदानकुडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको विर्ता देउराली– ७, खहरेखोलामा दुर्घटना हुँँदा दुई दर्जन बढीको ज्यान गएको भन्दै शोक व्यक्त गरेको छ ।

‘दुर्घटनामा परि ठूलो संख्यामा यात्रुहरुको निधन भएको खबरबाट पार्टी स्तब्ध भएको छ । उक्त हृदयाविदारक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र उद्दार र उपचारका लागि पार्टी माग गर्दछ,’ बैठकपछि पार्टी सचिव योगेश भट्राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, बसमा अनियन्त्रित यात्रु–चाप नियन्त्रण, सार्वजनिक सवारी साधन र चालकहरुको अवस्थामा निगरानी, वर्षायाममा अत्यावश्यक बाटोघाटोको तत्काल सुधार जस्ता कुरामा गम्भीरतापूर्वक ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँछ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा यसअघि पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धनलगायतका विषयमा नेताहरुले समीक्षात्मक धारणा राखेका थिए ।

सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदीय सुरेन्द्र पाण्डेले आफ्ना धारणा राखे ।

बैठकले केन्द्रीय लेखापरीक्षण आयोगका सदस्य कमरेड ईश्वरीप्रसाद खरेलका पुत्र डा पुकार खरेलको असामयिक निधनबाट पार्टी दुःखित बनेको भन्दै प्रस्ताव पारित गरेको छ । स्थायी समितिको अर्को बैठक भोलिमंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्