कामकुरो एकातिर, लावालस्कर बोकेर प्रचण्ड युएइतिर


१ माघ । मुलुकको समस्यामा भन्दा पनि विदेश भ्रमणमा बढी चासो राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अपरान्ह १३ सदस्यीय नेपाली टोलीको लस्कर लिएर एक सम्मेलनमा भाग लिन युनाइटेड अरब इमिरेट्स (युएइ) प्रस्थान गरेका छन् । उर्जा भविष्यबारे विश्व सम्मेलनमा भाग लिन उनी त्यत्रो लस्कर लिएर त्यसतर्फ प्रस्थान गरेपछि उनको आलोचना सुरु भएको छ ।

संविधान संशोधन प्रस्ताव विपक्षीलाई छलेर टेबुल भएको छ । त्यसपछि झन् रुष्ट बनेका प्रमुख प्रतिपक्षी दल एमालेसहितसँग छलफलका लागि उनले कुनै चासो दिएका छैनन् । बरु विदेश भ्रमणमा भने उनी निकै उत्साहित हुँदै प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले बिदाई गरे ।

उनीहरुले बिदाई गर्दा उनी निकै उत्साहित देखिएका थिए । उनको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्यहरु पनि छन् ।  यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी  छन् ।  प्रधानमन्त्री दाहाल मंगलबार नेपाल फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्