कार्यकारी अधिकृत कुट्ने प्रशासकीय अधिकृतमामाथि सार्वजनिक मुद्दा


२४ भदौ । निजामती कर्मचारी दिवस मनाएकै भोलिपल्ट शुक्रबार वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइराला आफ्नै कार्यकक्षमा कुटिएका छन् । त्यो पनि कुनै बाहिरी मानिसबाट होइन, आफ्नै कार्यालयका अधिकृतबाट ।

कार्यकारी अधिकृत कोइरालामाथि प्रशासकीय अधिकृत रामदयाल यादवले हातपात गरेपछि वीरगन्ज उपमहानगरपालिका कार्यालयमा तनाव भएको छ । हातपात गर्ने अधिकृत यादवविरुद्ध पर्सा प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ । उनका विरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले बताए ।

प्रशासकीय अधिकृत यादवलाई उपमहानगरपालिकाले तत्कालै निलम्बन गरेको छ । यसअघि बिमल श्रीवास्तव उपमहानगरपालिकाको मेयर हुँदा पनि यादव निलम्बनमा परेका थिए । कार्यकारी अधिकृत कोइरालामाथि भएको हातपातलाई गलत र अराजकतापूर्ण काम भन्दै कर्मचारीहरुको बैठकले विरोध गरेको छ । बैठकले नै कार्यकारी अधिकृतलाई कारवाही अगाडि बढाउन सुझाव दिएको एक अधिकृतले बताए ।

शुक्रवार दिउसो साढे १२ बजे आफ्नो कार्यकक्षमा बसेर नक्सा फाँटले तयार गरेको कामलाई अन्तिम स्वीकृति दिने काम गरिरहेका कार्यकारी अधिकृत कोइरालाई यादवले हातपात गरेको गरेका थिए । बीरगन्ज उपमहानगरपालिकाले करारमा राखेका सवारी चालकले आफ्नो करार सकिएको र करार थपका साथै पारिश्रमिक समायोजनको माग राखेर कार्यकारी प्रमुख समक्ष निवेदन दिएका थिए ।

निवेदनमा कार्यकारी प्रमुखले प्रशासन शाखाको राय माग गर्दै तोक लगाएकोमा प्रशासन शाखाले त्यसबारे कुनै राय नदिएपछि बुझ्न प्रशासन शाखामा गएका चालकहरु र अधिकृत यादवबीच भनाभन भएको थियो । त्यसक्रममा आक्रोशित चालकहरुले मुड्की बजार्दा यादवको टेवुलको सिसा फुटेको थियो । यही बिषयलाई निहुँ बनाएर चालकहरुलाई कार्यकारी प्रमुखले पठाएको आरोप लगाउँदै यादवले कार्यकारीको कार्यकक्षमा गएर हातपात गरेका हुन् । उनीसँगै अर्का कर्मचारी मुना चौरसिया पनि गएका थिए ।

विगत केही समयदेखि उपमहानगरपालिकामा करारमा रहेका केही कर्मचारीको म्याद थप गर्ने बिषयमा प्रशसन शाखाले टिप्पणी उठाउने र कार्यकारी समक्ष पेश गर्ने प्रक्रिया अवरुद्ध भएकोले चालकहरुले सो काम बढाउन प्रशासकीय अधिकृत यादवलाई भन्दै आएका थिए । उनीहरुको करार गत असार मसान्तमा सकिएको थियो । यादवको शाखामा सहयोगीको रुपमा कार्यरत महादेव यादव पनि पिटिएका छन् । उनलाई नारयाणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

यादवले राजस्व शाखा वा लेखा शाखामा आफ्नो सरुवा माग गर्दै आइरहेका थिए । उनले यसभन्दा अगाडि पनि कार्यकारी प्रमुख कोइरालालाई तथानाम भनेको त्यहाँ कार्यरत कर्मचारीले बताए । उनले सत्तारुढ माओवादी केन्द्रका स्थानीय नेताहरुको साथ पाएकोले कार्यकारी अधिकृतमाथि आक्रमण गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

प्रशासन प्रमुख रहेका यादवले कर्मचारीहरुको ब्यक्तिगत फाइलमा समेत गडबडी गरेको आरोप कर्मचारीहरुले लगाएका छन् ।कर्मचारीहरुको ब्यक्तिगत फाइल मिडियामा दिने गरेको उनीमाथि आरोप छ । आफू काम गर्ने संस्थाका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिभिन्न नक्कली नाममा पटके उजुरी गर्ने गरेको समेत कर्मचारीले बताएका छन् । कार्यकारी प्रमुख कोइरालामाथि हातपात गरेपछि यादव फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्