कार्यक्रम एक, ओली कटाक्ष ११


असार ११ । एमाले अध्यक्ष केपी ओलील शुक्रबार पेसागत महासंघ नेपालको छैटौँ महाधिवेशन उद्घाटनका क्रममा आफ्ना काम र भनाइप्रतिका टिप्पणीबारे कटाक्ष गरे । ओलीका ११ कटाक्ष यस्ता छन् ।

१. नेपालका बुद्धिजीवी कोट काट्ने मुसाजस्ता

बुद्धिजीवीले देश अघि बढाउन बुद्धि प्रयोग गर्नुपर्छ, मुसाले सुट काटेजस्तो गर्नुहुँदैन । मुसाको डिफेक्ट के छ भने दाँतले काटेन भने पलाएको पलायै हुन्छ, तर झुत्रा लुगा काटिदिए हुन्थ्यो नि  सुटै काटिहाल्छ । मुसाले सुट काटेजस्तै दाँत उद्याउने होइन । म बुद्धिजीवीहरूलाई आग्रह गर्छु, देशलाई अघि बढाउने, विकास गर्ने काममा बुद्धि लगाउनुस्, नकारात्मक आलोचना गर्ने काममा होइन ।
(सन्दर्भः आफूले देश विकासको कुरा गर्दा बुद्धिजीवीले नकारात्मक टिप्पणी गरेकोमा)२.

खानी खोज्दा किन आपत्

तेल खानीको सर्भे सुरु गरेपछि कस्तो आपत् आइपर्ने मान्छेलाई † डिजेल, पेट्रोल, ग्यास किनेर देश चलाउन यत्रो मुस्किल परिरहेको छ हामीलाई, अनि आफ्नै खानी किन खोज्न नहुने ?
(सन्दर्भः पेट्रोलियम पदार्थ उत्खनन गरेर देश आत्मनिर्भर बनाउने विषयमा टिप्पणी)

३. चुलामा पाइपको जनता विरोध गर्दैनन्

ग्यास बाल्न चुलामा पाइप पुर्‍याउनै हुँदैन भन्छन् एकथरी । सिलिन्डरै राख्नुपर्छ, पाइप पुर्‍याउनै हुँदैन भनेर सर्वसाधारणले भनेका छैनन् । गाउँका मान्छेले पनि भनेका छैनन् । किनकि उनीहरूले त गोबर ग्यासबाट पनि चुला बाल्न जानेका छन् ।
(सन्दर्भःचुलामै ग्यास पाइप जोड्ने भाषण)

४. मेरा कुरामा महाबहस

एउटा महाबहस नै छ देशमा । केही मान्छे अलिकति डिलमा बसेर चर्को स्वरमा धेरै कराएको हो कि जस्तो सुनिएको मात्रै हो । आम रूपमा बुद्धिजीवीहरूले कुरा बुझेका छन् र यो महाविवाद जनताको ठूलो हिस्साले बुझेको छ ।
(सन्दर्भः आफूले सुरु गरेको देश विकासको महाबहसलाई जनताले बुझेको टिप्पणी)

५. बजेट अर्थशास्त्रीले बुझेनन्, गाउँलेले बुझे

यसपटकको बजेट गाउँका बुढाबुढीदेखि सबैले बुझे । तर, केही–केही अर्थशास्त्रीलाई बुझ्न धेरै गाह्रो भो । किन हो कुन्नि, केही अर्थशास्त्री जति पल्टाउँदा पनि बुझ्दै बुझ्दैनन् । बरु बजेट ठीक कि बेठीक बुढाबुढीलाई, गाउँमा बस्ने गाउँले जनतालाई सोध्दा हुन्छ नि कस्तो छ रु देशभक्तहरूलाई सोध्दा हुन्छ । सोध्दा पनि कसैले नसोध्ने, आफैँ जान्ने हुन खोज्ने अनि फेरि बुझिनँ भन्ने ?
(सन्दर्भ ःकनिका छरेजस्तो बजेट भनेर विरोध भएकोमा)

६. सरकारको आयुः दुई सय ४० वर्ष जाँदैन

तपाईंहरूले सरकार परिवर्तन भइहाल्छ–भइहाल्छ भन्ने सुन्नुभएको छ । मैले भन्दै आएको छु– यो एक सय चार वर्षसम्म परिवर्तन नहुने राणा शासन, दुई सय ४० वर्ष परिवर्तन नहुने वंशाणुगत राजतन्त्र पनि होइन । यो त लोकतन्त्र हो, संसद्बाटै आउँछ, मन परेन भने संसद्ले फेरिहाल्छ । तर, मन्त्रिपरिषद्ले कार्यतालिका नै ल्याएपछि तिनले बुझे होलान् नि ? मंसिरमा स्थानीय, वैशाखमा प्रादेशिक, अर्को मंसिरमा प्रतिनिधिसभा र संसद्को निर्वाचन फागुन–चैतमा राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन । अब पनि सरकारको आयु थाहा पाउनुभएन ? ढुक्क भएर अघि बढ्नुस्, अहिलेको सरकारले देशको हैसियत माथि उठाएको छ ।
(सन्दर्भः सरकारको नेतृत्व परिवर्तन हुने कांग्रेसको भनाइको जवाफ)

७. हात्तीको सुँढजस्तो सरकार होइन

अहिलेको सरकार अँध्यारोमा छामछुम गर्ने सरकार होइन । गन्तव्य नै नभएको काँडेघारीमा फसेको पनि सरकार होइन । अन्धाले हात्ती छामेजस्तो– कसैले सुँढजस्तो, सुँढलाई केराको थामजस्तो, कसैले खम्बाजस्तो, कसैले भित्ता, कसैले डोरीजस्तो भनेर हिँड्ने सरकार होइन । विचारमा स्पष्ट, गन्तव्यमा अझ स्पष्ट, बाटोका सम्बन्धमा छर्लंग बुझेको सरकार हो यो ।
(सन्दर्भंः निर्वाचन गराएर मात्रै नेतृत्व परिवर्तन हुने स्पष्ट पार्दै)

८. झिलिक्क सम्झिने नागरिकका कर्तव्य

संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म विभिन्न प्रकारका मौलिक हक–अधिकारका कुरा छन् । ४७ मा कार्यान्वयन कसरी गर्ने,तीन वर्षभित्र कानुन बनाएर मौलिक हक उपयोग गर्ने कुरा छ । ४८औँ धारामा झिलिक्क सम्झिने नागरिकका कर्तव्यको व्यवस्था छ । कर्तव्य बिर्सिएर अधिकार मात्रै उपयोग गर्न खोज्दा देश बनाउन सकिँदैन । देश बनाउने, भ्रष्टाचार रोक्ने, सुशासन कायम गर्ने हाम्रो कर्तव्य हो । हामीले पुरस्कारको चाहिँ व्यवस्था गर्‍यौँ, दण्ड के हो व्यवस्था छैन ।
(सन्दर्भःपेसागत क्षेत्रका पेसाकर्मी, राष्ट्रसेवकलाई कर्तव्य पालन गर्न आग्रह गर्दै)

९. श्रापमुक्त भएर बढ्दा के हुन्छ ?

हामीलाई कुनै प्रकारको श्राप पर्नुहुँदैन । श्रापमुक्त भएर यथार्थको उचाइमा हाम्रा आवश्यकताअनुसार अघि बढ्न सक्नुपर्छ । नेपालीहरूमा आन्दोलनका कुरा गर्न पाए क्रान्तिकारी भइन्थ्यो कि भन्ने छ । तर, कुनै पनि कुरा समयानुकूल हुन्छ । राजतन्त्रविरुद्ध गणतन्त्रात्मक जनव्यवस्था सिर्जना गरिसकका छौँ, सर्तक हुनुपर्छ, देश फेरि पछि नफर्कियोस् ।
(सन्दर्भः क्रान्तिकारी कुरा गर्ने दललाई परिवर्तन आत्सात् गर्न आग्रह)

१०. रुवान्डा बनाउने प्रयास अस्वीकार्य

अहिले फेरि राष्ट्रिय सम्पत्ति र संरचनाहरूको नोक्सान पार्ने, भत्काउने, आगो बाल्ने काम पनि हुन थालेको छ । यो असान्दर्भिक, अनुचित प्रवृत्ति स्वीकार्य छैन । भूगोल–भूगोलमा लडाइँ मच्चाउने, साम्प्रदायिक विद्वेष फैलाउने विचारलाई राष्ट्रले अस्वीकार गरेको छ । हाम्रा भौगलिक, जातीय, भाषिक, सांस्कृतिक विविधता समृद्धिका विषय हुन् । राष्ट्रको एकताविरुद्ध क्षेत्रीय या जातीय साम्प्रदायिक विद्वेष र काटमार मच्चाउन खोज्ने रुवान्डा र सिरिया बनाउन खोज्ने प्रयास असफल भएका छन् । त्यस्ता तत्त्व एक्लिँदै गएको हामीले देखेका छौँ ।
(सन्दर्भःविप्लव माओवादीले हिंसा र जातीय क्षेत्रीय विखण्डन निम्त्याउन खोजे नियन्त्रण गर्ने प्रस्टोक्ति)

११. अहिल्यै सात्तो उड्यो, पछि मुर्छा नपर्नुस्

कुरा सुन्दै त कतिपयको सात्तो उडेको छ । भर्खरै कार्यान्वयनको काम सुरु गरेका छौँ । अब अघि बढ्दै जान्छ, मन नपराउनेलाई भन्न चाहन्छु– अहिले त यति आग्रही बन्नुभएको छ, पछि त झन् मुर्छा परिएला नि ? यथार्थमा आधारित आलोचना सुन्छु, राम्रा कुराको स्वागत गर्छु ।
(सन्दर्भः बजेट र संविधान कार्यान्वयनमा दृढता व्यक्त गर्दै)
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्