कार्यवाहक अध्यक्ष माधव नेपालको छ दिने डायरी


काठमाडौं, ९ असार ।

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लामो समयपछि नवगठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एमालेमा ८ वर्ष पार्टी प्रमुखका रुपमा महासचिवको जिम्मेवारी सम्हालेयता नेपालले नवगठित पार्टीमा पहिलो पटक ६ दिनको छोटो अवधि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । सधैँ सक्रिय रहन रुचाउने नेता नेपाल ५ दिन कार्यवाहक अध्यक्षका रुपमा दर्जन बढि भेटघाट, छलफल र औपचारिक कार्यक्रमहरुमा सहभागी भए ।

यसबीचमै उनले धुम्बाराही र पेरिसडाँडास्थित कार्यालयमा पार्टीको आन्तरिक बैठक राखेर राष्ट्रिय–अन्तराष्ट्रिय राजनीतिक परिस्थितिबारे औपचारिक÷अनौपचारिक छलफल मात्र गरेनन्, कुटनीतिक सम्बादसमेत गरे । त्यतिमात्र होइन, संसद बैठक, निर्वाचन क्षेत्रको औपचारिक कार्यक्रमहरुमा सकृय हुँदै विवाह–ब्रतबन्ध जस्ता सामाजिक सांस्कृतिक कर्महरुमा पनि सहभागी रहे । कार्यवाहक अध्यक्षका रुपमा उनको ६ दिने डायरी कस्तो छ ? नेपालको सचिवालयले उनको दैनिकी प्रेस नोटका रुपमा सार्बजनिक गरेको छ ।

पहिलो दिनः नेताहरुसँग तीन घण्टा छलफल

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अन्तराष्ट्रिय विमानस्थलमा चीन भ्रमणका लागि विदाई गरे । त्यसलगत्तै स्वर्गीय डा. उपेन्द्र देवकोटाको पार्थिक शरीरमा आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । त्यहाँबाट सिधै पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही पुगेर कार्यालय निरीक्षण गर्नुका साथै महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ तथा स्थायी कमिटी सदस्य भीम रावलसँग विभिन्न विषयमा ३ घण्टा छलफल गरे । बेलुकी कोटेश्वरका छिमेकीको बैबाहिक कार्यक्रममा पनि सहभागी भए ।

दोस्रो दिनः पेरिसडाँडा निरीक्षण, प्रवक्तासँग छलफल

बिहान १० बजे महासचिव विष्णु पौडेलसहित पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा पुगेका कार्यवाहक अध्यक्ष नेपालले कार्यालयको निरिक्षण गरे । त्यस क्रममा उनले कार्यालय सचिव प्रल्हाद बुढाथोकी, प्रकाश पोखरेल, युवराज चौलागाँई विदेश विभाग सदस्य लक्ष्मण पन्त एवम् केन्द्रीय नेताहरु भानुभक्त ढकाल, नेत्र पन्थीलगायतसँग सामूहिक फोटो सेसन गरे । त्यसलगत्तै महासचिव पौडेलसगँ  छुट्टै छलफल गरेका नेपालले दिउँसो पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग पनि छलफल गरे ।

तेस्रो दिनः १ सय ५० सँगको भेटपछि सचिवालय बैठक

निवासमा समय मागेर भेट्न चाहने सबैलाई उनले पार्टी कार्यालय, पेरिसडाँडामा विहानैदेखि बोलाएर भेटघाट गरे । त्यस दिन विविध क्षेत्रका डेलिगेशनहरु तथा व्यक्तिगतसहित कार्यवाहक अध्यक्ष नेपालले झण्डै १५० जनासँग भेटघाट गरेको स्वकीय सचिव मोहन गौतमको प्रेस नोटमा उल्लेख छ । सोही दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले पेरिसडाँडा पुगेर नेपालसँग भेटवार्ता गर्नुका साथै कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरे । बेलुकी ५ बजे पेरिसडाँडामै सचिवालयको अनौपचारिक बैठक राखेका कार्यवाहक अध्यक्ष नेपालले प्रधानमन्त्रीको चीन भ्रमणका उपलब्धीहरु, अन्तर्राष्ट्रिय प्रभाव तथा नेपालको आन्तरिक तयारी लगायतका सन्दर्भमा पनि छलफल गरे ।

चौथो दिनः दुई पटक संसदहुँदै विवाह र ब्रतबन्धसम्म सहभागी

बिहानै कोटेश्वरस्थित निवासमा ठूलो संख्याका नेता कार्यकताहरुसँग भेटेघाट सकेर कार्यवाहक अध्यक्ष नेपाल दिउँसो दुई पटक बसेको संसद बैठकमा सहभागी भए । त्यसलगत्तै उनी साँझ झण्डै एक दर्जन नेता कार्यकर्ताहरुको पारिवारिक समारोह(विवाह तथा ब्रतबन्ध)मा सहभागी भए ।

पाँचौ दिनः नगरसभा उद्घाटनदेखि बिदेशी पाहुनासँगको भेट

विहानै साविक गोठाटार गा.वि.स.मा स्थानीय कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी भएका कार्यवाहक अध्यक्ष नेपालले प्रमुख अतिथिका रुपमा बिहान ११ बजे शंखरापुर नगरपालिकाको नगरसभा उद्घाटन गरे । त्यसलगत्तै आर्यघाटमा पुगेर केन्द्रीय सदस्य डा. वंशिधर मिश्रका स्वर्गीय पिताप्रति श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना दिएर नेपालले केन्द्रीय सदस्य राजेन्द्र गौतम पूत्रीको विवाहमा सहभागी भएर शुभकामना दिए । साँझ उनले केही विदेशी पाहुनाहरुसँगसमेत भेटघाट गरेका छन् ।

छैठौं दिनःप्रधानमन्त्रीको स्वागतपछि नगरसभा उद्घाटन

बिहान निवासमा केही महत्वपूर्ण भेटघाटपछि कार्यवाहक अध्यक्ष नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई स्वागत अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । त्यसलगत्तै उनी सिधै कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा उद्घाटनका लागि थली प्रस्थान गर्ने स्वकीय सचिव गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्