कार्यविधि विपरीत सम्पदा क्षेत्रमा ड्रोन सञ्चालन


काठमाडौं, १८ फागुन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रमा नियम विपरीत ड्रोन सञ्चालन भइरहेको छ ।

ड्रोन प्रयोगकर्ताहरूले जिल्ला प्रशासन कार्यालयबाट ड्रोन सञ्चालन अनुमति लिए पनि दुरुपयोग हुने गरेको छ । प्रशासनले ड्रोन सञ्चालन कार्यविधिअनुसार अनुमति दिए पनि प्रयोगकर्ता कार्यविधि बाहिर गएर ड्रोन सञ्चालन गर्ने गरेको पाइएको हो  ।

पाटन संग्रहालय विकास समितिका अनुसार जथाभावी ड्रोन सञ्चालनले सम्पदा क्षेत्रको सुरक्षा जोखिम बढेको छ । समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, ‘कुनै पनि पुरातात्विक महत्वकाक्ष् ोत्रमा ड्रोन प्रयोग गर्न दिनुहुँदैन । यसले सम्पदा क्षेत्रको सुरक्षा संवेदशीलतामा जोखिम बढाउँछ ।’

खनालका अनुसार ड्रोनसञ्चालनसम्बन्धी कार्यविधिअनुसार अनुमति लिए पनि ड्रोन प्रयोगको सदुपयोग भए–नभएको अनुगमन नहुँदा समस्या हुने गरेको छ । समितिले ड्रोन सञ्चालन भएको सूचना पाउनेबित्तिकै प्रहरीको सहयोगमा रोक लगाए पनि अनुमतिपत्र देखाएर प्रयोगकर्ता छुट्ने गरेको जनाएको छ ।

कार्यविधिअनुसार नै ड्रोन चलाउन दिएका हौं : प्रशासन

जिल्ला प्रशासन कार्यालयले कार्यविधि बाहिर गएर ड्रोन सञ्चालन अनुमति नदिएको जनाएको छ । यद्यपि, अनुमति लिएपछि दुरुपयोग भए–नभएको भने जानकारी नभएको जनाएको छ ।

कार्यालयका सहायक सिडिओ एवं प्रवक्ता खिमराज भुसालले भने, ‘हामीले ड्रोन सञ्चालन कार्य्विधिकै अधिनमा रहेर अनुमति दिएका हौँ । दुरुपयोग गरे भन्ने सूचना आएको छ । हामीले अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’

कार्यकारी निर्देशक खनालले सम्पदा क्षेत्रलगायत संवेदनशील क्षेत्रमा ड्रोन सञ्चालन गर्दा सरकारी कार्यालयबीच समन्वय गर्न आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘दरबार क्षेत्र सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र हो । सरकारी निकायबीच समन्वय आवश्यक देखियो ।’ दरबार क्षेत्रमा ड्रोन सञ्चालन हँुदा यहाँका बहुमूल्य सामग्रीहरू चोरी हुने र पर्यटकको सुरक्षामा समेत चुनौती देखिएको उनले बताए ।

अनुमति एकातिर उडान अर्कैतिर

१ फागुनमा लुभुका सिद्धान्तमान श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सुन्धाराक्षेत्र, मंगलबजार र पाटनमा ड्रोन उडानको अनुमति दियो । तर, उनले अनुमति नै नलिएको पाटन दरबार क्षेत्रमा पनि ड्रोन उडाए । समितिका कार्यकारी निर्देशक खनालका अनुसार अनुमति नै नभएको स्थानमा ड्रोन उडाएपछि श्रेष्ठसँग सोधपुछ गरियो ।

सोही आधारमा जिल्ला प्रशासन कार्यालयसँग छलफल गरी भविष्यमा सच्याएर जाने सहमति भएको खनालले बताए । उनले भने, ‘हामीले पाटन दरबार क्षेत्रमा ड्रोन सञ्चालन भएको विषयमा भविष्यमा यस्ता विषय सच्याएर जाने कुरा भएको छ ।’ अनुमति पाएको क्षेत्रमा पनि पाँच सय मिटर उचाइसम्म ४३० ग्रामको ड्रोन उडानगर्न कार्यालयले स्वीकृति दिएको पत्रमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्