कालापानीबारे चीनले भन्यो, ‘एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल’


काठमाडौं, ७ जेठ । चीनले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एक पक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गरेको छ ।

भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनलाई जवाफ दिने क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बेइजिङमा भनेका छन्, ‘कालापानी नेपाल र भारतको इस्यु हो । हामी विश्वास गर्छौ कि दुई देशले मैत्रीपूर्ण संवादबाट आपसी मतभेद समाधान गर्नेछन् अनि एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ पनि उनीहरूले ध्यान दिने छन् ।’

प्रवक्ता जाओ लिजियानलाई कालापानीका सम्बन्धमा सेन्झेन टिभीका पत्रकारले प्रश्न सोधेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्