कालिञ्चोक भगवतीको दर्शन गर्न पुसदेखि केबुलकारमा जान सकिने


दोलखा, २२ भदौ । दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा निर्माणाधीन केबुलकार पुस महिनाभित्र सञ्चालनमा आउने भएको छ । कुरी बजारबाट कालिञ्चोकको डाँडासम्म ९ सय मिटर लम्बाईको केबुलकार कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको हो । केबुलकारको निर्माण कार्य ९० प्रतिशत सकिएकाले दसैँसम्ममा परीक्षण गरेर पुस महिनाभित्र सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

केबुलकारको सिभिल संरचनाको काम ललितपुरको ‘केबलकार र रोपवे कम्पनी’ले गरिरहेको छ । कम्पनीका सञ्चालक गणेश पाठककाअनुसार केबलकारको टावर निर्माण गर्ने काम सकिएको छ । माथिल्लो र तल्लो भागमा उपकरण जोड्ने काम र तार तान्ने काम पनि सकिन लागेकाले अब दसैँभित्र निर्माण सम्पन्न हुने पाठकले बताए ।

९ सय मिटर लामो यो केबुलकार जमिनबाट ३०७ मिटरको उचाइमा रहेको छ । यसलाई ओहोरदोहोर गर्न पाँच मिनेट लाग्नेछ भने यसमा चारवटा यात्रु बाकस गोण्डाला राखिनेछन् ।

योसंगै नेपालमा संचालनमा आएका केबुलकारको संख्या ४ पुग्नेछ । २०५५ सालमा मनकामना केबुलकार, २०७१ सालमा कुश्मा बलेवा यान्त्रिक पुल र २०७३ सालमा चन्द्रागिरि केबुलकार सञ्चालनमा आइसकेका छन् ।

कुश्मा बलेवा यान्त्रिक पुलको निर्माण पनि ‘केबुलकार र रोपवे कम्पनी’ ले नै गरेको हो । कम्पनीका सञ्चालक पाठककाअनुसार त्यसलाई यान्त्रिक पुल भनिए पनि सबै प्रविधि र तरिका केबुलकारको नै भएकाले त्यो पनि केबुलकार नै हो ।

प्रतिक्रिया दिनुहोस्