किन चिन्तित छ तराई–मधेसप्रति एमाले ?


३ माघ । तराई–मधेसका जनताले पटक–पटक सरकारको नेतृत्व गरिसकेका र मन्त्री बनेका अरु राजनीतिक दलका नेताहरुलाई सोध्न सक्छन्, तराई–मधेसको विकासका लागि के के उल्लेख्य कामहरु गर्नुभयो ? लामो समय सत्तामा रहेको नेपाली काँग्रेस, तीन पटक सरकार सम्हालिसकेको नेकपा (माओवादी केन्द्र) र मन्त्री बनेका मधेसी दलका नेताहरुसँग कुनै गतिलो जवाफ छैन ।

तर, फागुनको तेस्रो सातादेखि तराई झर्ने योजनामा रहेको नेकपा (एमाले) सँग भने तराई–मधेसका जनतालाई चित्तबुझ्दो जवाफ दिने आधार छ । एमालेले हरेक पटक सरकारको नेतृत्व सम्हाल्दा तराई–मधेसको विकासका लागि पर्याप्त बजेट छुट्याएर त्यसलाई कार्यान्वयनको तहमा पु¥याउने विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारको बेला तराई–मधेसका विकासका लागि पर्याप्त बजेट छुट्याइएको थियो । जसमा, सुनकोसी–कमला डाइभर्सनका निम्ति ५ अर्ब ३५ करोड, काठमाडौं–निजगढ फास्टट्याकका लागि १० अर्ब, हुलाकी राजमार्गका लागि ४ अर्ब २० करोड, निजगढको अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ अर्ब ५० करोड, सीमावर्ती सडक परियोजनाका लागि २ अर्ब, बर्दिवास–सिमरा रेल्वे परियोजनाका साथै तराईका १८ वटा जिल्लाको सदरमुकामहरुको विकास गर्न ५०–५० करोड र प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका लागि ५ अर्ब ७५ करोड, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

तराई–मधेसको विकासमा केन्द्रित रहेर यति धेरै बजेट छुट्याइएको पहिलो पटक नै हो । विगतका काँग्रेस, माओवादी नेतृत्वमा बनेका सरकारहरुले तराई मधेसको विकासका लागि बजेट छुट्याउन कन्जुस्याइँ गर्दै आइरहेका थिए । तर, एमालेलाई भने केही मधेसी दलहरुले ‘तराई मधेस विरोधी’ पार्टीको रुपमा चित्रित गर्ने र जनतालाई एमालेविरुद्ध भ्रम छर्ने कार्य गर्दै आइरहे पनि एमालेले आफ्ना विरोधीहरुलाई गतिलो जवाफ दिनसक्ने आधार यिनै हुन् ।

तराई मधेसको विकासमा चिन्तित देखिएको एमालेले आगामी फागुन २१ गतेदेखि १५ दिनसम्म तराईका विभिन्न ३५ थलोमा वृहत् सभा गर्ने भएको छ । सो दिन पञ्चायत विरोधी आन्दोलनमा लागेका ५ जना व्यक्तिले सहादत प्राप्त गरेको झापाको सुखानी काण्डका सहिदहरुलाई सम्झिँदै मेची किनारबाट एमालेको अभियान सुरु हुने जनाइएको छ । सो अभियान पूर्वको काँकडभिट्टाबाट सुरु भएर सुदूरपश्चिमको महेन्द्रनगर हुँदै सुर्खेतमा पुगेर समापन हुने एमाले स्थायी कमिटीको बैठकले टुंगो लगाएको छ ।

एमालेले मूलतः राजमार्ग केन्द्रित सभा, र्याली र प्रदर्शन गर्ने जनाइएको छ । तर, पूर्व–पश्चिम राजमार्गका साथै केही प्रमुख सहरहरुमा पनि सभा गर्ने बताइएको छ । जसमा बिर्तामोड, दमक, इटहरी, इनरुवा, लहान, जनकपुर, बर्दिबास, वीरगञ्जलगायत बुटवल, कोहलपुर, धनगढी, महेन्द्रनगरजस्ता सहरहरुमा पनि कार्यक्रम गर्ने बताइएको छ । आइतबार एमाले स्थायी कमिटीको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अभियानको मुख्य उद्देश्य संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्नु हुनेछ ।’

त्यसो त, दोस्रो संविधानसभाको निर्वाचनमा एमालेलाई तराईका जनताले दोस्रो दलको रुपमा उभ्याएको थियो । तराईका २० जिल्लाबाट एमालेले प्रत्यक्षतर्फ ३६ सिटमा विजय प्राप्त गरेको थियो भने ८ लाख २८ हजार २ सय ९९ मत प्राप्त गरेको थियो । मधेसको राजनीतिमा केन्द्रित मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय सद्भावना पार्टी, सद्भावनालगायत दलहरुले भन्दा एमालेले नै धेरै मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्