किन टाँसियो शीतल निवासका भित्तामा बेलायती महारानीको तस्वीर ?


११ भदौ । शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा १३ जना मन्त्रीले शपथ लिँदा दुईवटा कुराको धेरै चर्चा भयो, पहिलो– १२ जना पुरुषमन्त्रीले दौरा सुरुवाल लगाएको र दोस्रो– शपथका लागि उभिरहेको पृष्ठभूमिको भित्तामा झुन्ड्याइएको बेलायती महारानीको एलिजाबेथ द्वितीयाको तस्वीर । दौरा सुरुवाल त मन्त्रीले लगाउने गरेकै थिए । पछिल्लो दिनमा नलगाउने मधेसी मूलकाले मात्रै हो र हिजोको शपथमा मधेसी मूलका कोही थिएनन् । तर, थाहा नपाएको कुरा हुन सक्छ, हाम्रो राष्ट्रपति भवनमा बेलायती महारानीको तस्वीर किन राखिएको होला ?
यस प्रश्नको उत्तर खोज्दै जाँदा शीतल निवासको इतिहासमा पुग्नुपर्छ ।

शाही अतिथिगृहको साइनो

अहिले राष्ट्रपति कार्यालय र निवासका रुपमा प्रयोग भइरहेको शीतल निवास त्यसअघि परराष्ट्र मन्त्रालयका रुपमा प्रयोग भइरहेको थियो भन्ने त तत्कालकै कुरा भएकाले सबैलाई थाहा हुने भइहाल्यो । तर, त्यसअघि त्यहाँ शाही अतिथिगृह थियो भन्ने धेरैलाई थाहा नहुन सक्छ । हो, त्यही बेलाको साइनो जोडिएको छ, महारानी एलिजाबेथको शीतल निवाससँग ।

alizaसन् १९६१ मा पहिलो पटक नेपाल भ्रमणमा आउँदा महारानी एलिजाबेथ यही भवनमा शाही पाहुनाका रुपमा बसेकी थिइन् । त्यसैको सम्झनामा यस भवनको भुइँ तलामा हरेका कोशी हलको भित्तामा उनको तस्वीर झुन्डिइरहेको छ ।

त्यसरी शीतल निवासमा शाही पाहुनाका रुपमा बस्ने महारानी एजिजावेथ एक्ली थिइनन् । उनी जस्तै अरु सात जना विदेशी विशिष्ट पाहुना त्यही भवनमा बसेका थिए । उनीहरुका तस्वीर पनि महारानी एलिजाबेथका जस्तै गरी शीतल निवासको भित्तामा टाँसिएका छन् । तर, संयोगबश हिजोको शपथ ग्रहणमा चाहिँ एलिजाबेथको तस्वीर देखिएको हो ।

जापानका सम्राट अकितो युवराज छँदै पहिलो पटक सन् १९६० मा नेपाल भ्रमणमा आउँदा त्यहीँ बसेका थिए भने त्यही वर्ष भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु दोस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि त्यहीँ बसेका थिए ।

राजा महेन्द्रले सन् १९५७ मा रुसको भ्रमण गरेपछि त्यसको तीन वर्षपछि सन् १९६० मा नेपाल आएका त्यहाँका राष्ट्रपति क्लिमेन्ट भोरोसिलोभ पनि शीतल निवासमै बसेका थिए ।

ppppp (1)चिनियाँ प्रधानमन्त्री चाउ एनलाई सन् १९५७ र ६० मा नेपाल आउँदा दुबै पटक त्यहीँ बसेका थिए भने पाकिस्तानका राष्ट्रपति मोहम्मद आयुव खाँ पनि नेपाल आउँदा सन् १९६३ मा त्यहीँ बसेका थिए । बर्माका पहिलो प्रधानमन्त्री ऊ नु र इजरायका तेस्रो राष्ट्रपति जाल्मन साजार पनि शीतल निवासमै बस्ने विदेशी पाहुना थिए ।

पहिले परराष्ट्र मन्त्रालय सिंहदरबारमै थियो । ३० को दशकमा यसलाई त्यहाँबाट निकालेर शीतल निवास पुर्याइएपछि शाही अतिथिगृह सधैँका लागि इतिहास बन्यो । ०६५ मा देशमा गणतन्त्र आएपछि परराष्ट्र मन्त्रालयलाई बाहिर निकालिएपछि त्यो राष्ट्रपति भवनका रुपमा प्रयोग भइरहेको छ ।

कसको हो शीतल निवास ?

शीतल निवास पहिला सरकारी सम्पत्ति होइन । कृष्ण शम्शेर जबराले आफ्नो व्यक्तिगत सम्पत्ति सरकारलाई दिएका हुन्, एउटा शर्तमा । बेलायतमा दोस्रो नेपाली राजदूत भएर भव्य परम्परा र अतिथि सत्कार देखेका उनले विदेशी विशिष्ट पाहुनाको बसोबासका लागि शाही अतिथिगृह बनाउन बिक्रम सम्बत् २००६ सालमा त्यो भवन सरकारलाई दिएका थिए ।

त्यतिबेला राणशासन नै थियो र कृष्ण शम्शेर प्रधानमन्त्रीको रोलक्रममा थिए । राजदूतका रुपमा संसार देखेका कारण उनी अलि उदार थिए । उनी श्री ३ पद्म शम्शेरका हजुरिया जनरल (प्रमुख सल्लाहकार जस्तै) थिए । त्यतिबेला हजुरिया जनरल प्रधानमन्त्रीपछि किन शक्तिशाली मानिथ्यो भने बिजुली गारत नामक तालिमप्राप्त सैनिक फौजमाथि उसैको कमान्ड चल्थ्यो । प्रधानमन्त्री र हजुरिया जनरलको आदेश मात्रै त्यसले पालना गथ्र्यो ।

sitalपद्म शम्शेरले बैधानिक कानुन ल्याएर उदारता देखाएको भन्दै रोलक्रममा रहेका अरु राणाहरुले कठोर बन्न दवाव दिने गरेका थिए । त्यो दवाव कृष्ण शम्शेरमाथि पनि थियो । त्यही बेलामा कृष्ण शम्शेरले हुजरिया जनरलबाट पनि राजीनामा दिएर आफूलाई राजकाजबाट अलग गरे ।

श्री ३ चन्द्र शम्शेरकी जेठी श्रीमती चन्द्रलोकभक्त देवी राणाका कान्छा छोरा कृष्ण शम्शेर चाहिँ तत्कालीन राजा त्रिभुवनका भिनाजु थिए । त्रिभुवनकी साहिँली दिदी तारा राज्यलक्ष्मीबाट एक छोरा र एक छोरी जन्मे पनि ती बाँचेनन् । बैधानिक पत्नी शाहज्यादी थिइन् । तर, त्यतिबेलाका राणाजीकी एउटै मात्र पत्नी हुने कुरा भएन । अर्की पत्नीबाट जन्मेका छोरा झरेन्द्र शम्शेरलाई शाहज्यादी ताराले आफ्नै छोरालाई झैँ पालिन् ।

त्यही बेला कृष्ण शम्शेरले शीतल निवास सरकारलाई दिने निर्णय गरेका थिए । त्यो शीतल निवास आजको राष्ट्र«पति भवन भए जति मात्रै थिएन । अहिलेको प्रहरी तालिम केन्द्र, कान्ति वाल अस्पताल र शिक्षण अस्पतालको केही भाग पनि शीतल निवासभित्रै पर्दथ्यो । आफ्ना छोरा झरेन्द्रका लागि शीतल निवासपछाडिको २०–२५ रोपनी जग्गा राखेर उनले बाँकी सबै सरकारलाई हस्तान्तरण गरेका थिए । शीतल निवासपछाडि थाइल्यान्डको राजदूत निवास, एउटा होटललगायतका संरचना बनाएर कृष्ण शम्शेरका छोरा झरेन्द्र र उनका सन्तानहरु त्यहीँ बस्दै आएका छन् ।

कृष्ण शम्शेरले दिएको त्यही भवन अहिले राष्ट्रपति भवनका रुपमा छ ।

भारतीय दूताबास, जहाँ त्रिभुवनले लिएका थिए शरण

शाही अतिथिगृह बन्नुभन्दा पहिला शीतल निवासमा भारतीय दूताबास थियो, जहाँ विक्रम सम्बत् २००७ सालमा देश छाडेर भारत जानुपूर्व राजा त्रिभुनवले शिकार खेल्न जाने भन्दै राणाहरुको आँखा छलेर शरण लिएका थिए ।

अहिले भारतीय राजदूताबास बसेको लैनचौरमा त्यतिबेला बेलायती दूताबास थियो । सन् १९४७ मा बेलायती उपनिवेश हटेपछि त्यो एउटै मुलुक भारत र पाकिस्तानमा विभाजित भयो । लैनचौरको त्यो सम्पत्तिमा दुबै मुलुकले दावी गरे । अन्यत्र कतिपय देशमा कुर्सी, टेबल र दराजसमेत ती दुई मुलुकले बाँडेर लगेका थिए । त्यतिबेला अफगानिस्तानको राजधानी काबुल र नेपालको राजधानी काठमाडौँमा बेलायतका ठूला दूताबास थिए । पछि बेलायतीहरुले भागबन्डा गरिदिँदा काबुलको सबै सम्पत्ति पाकिस्तानलाई र काठमाडौँको सबै सम्पत्ति भारतलाई दिएका थिए ।

सन् १९५४ मा लैनचौरमा सर्नुपूर्व भारतीय दूताबास दुई भागमा बाँडिएर बसेको थियो । राजदूत निवासलगायत महत्वपूर्ण भाग शीतल निवासमा थियो भने बाँकी भाग अहिले लैनचौरमा समाजकल्याण परिषद, युनिसेफको क्षेत्रीय कार्यालय र मल्ल होटल रहेको भागलाई समेटेको केशर शम्शेरको रंगमहलमा थियो ।
नेपालका लागि पहिलो भारतीय राजदूत सरदार सुरजितसिंह मजिठिया र दोस्रो राजदूत सर चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंह पूरै

कार्यकाल शीतल निवासमै बसेका थिए । सन् १९५२ मा आएका तेस्रो राजदूत भालचन्द्र गोख्ले दुई वर्ष बसेर सन् १९५४ मा हाल दूताबास बसेरको लैनचौरमा सरेका थिए ।

प्रतिक्रिया दिनुहोस्