किन तोकिएन धानको समर्थन मूल्य ?


२७ पुस । समयमै सरकारले धानको न्यूनतम समर्थन मूल्य नतोक्दा किसानहरु मर्कामा परेका छन् । सरकारले समर्थन मूल्य तोक्नु त परैको कुरा रह्यो, यो वर्ष कति मेट्रिक टन उत्पादन भयो भन्ने तथ्यांक पनि सार्वजनिक गर्न चाहेको छैन ।

विगत वर्षहरुमा कृषि विकास मन्त्रालयले उत्पादक र व्यापारीलाई हित हुने गरी धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको थियो । तर, यो वर्ष भने मन्त्रालयले अहिलेसम्म समर्थन मूल्य तोकेको छैन । तर, धानको समर्थन मूल्य बाहिर नल्याए पनि मन्त्रालयले भने भित्री रुपमा मोटा चामलको प्रतिक्विन्टल २२ सय र मध्यम चामलको २४ सय मूल्य निर्धारण गरेको बताइन्छ ।

मन्त्रालयले धान बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोक्नुपर्ने हो । तर, धान उत्पादन भएर बजारमा पठाउनुपर्ने बेला बितिसके पनि न्यूनतम मूल्य तोक्न ढिलाइ गरेको देखिएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार, राज्यले कुनै पनि बालीको न्यूनतम समर्थन मूल्य तोकेपछि त्यसलाई राज्यले नै खरिद गर्नसक्ने र भण्डारण गर्नसक्ने क्षमता हुनुपर्ने भएकाले समर्थन मूल्य तोक्न नचाहेको बताइन्छ ।

खाद्यान्न बालीहरु खरिद गरेर बेच्ने सरकारी निकायमा नेपाल खाद्य संस्थान मात्र रहेको छ । तर, खाद्य संस्थानसँग उत्पादित धान खरिद गरेर भण्डारण गर्नसक्ने क्षमता भने छैन । अरु बालीहरु खरिद गरेर खाद्य संस्थानले बेच्दै आए पनि धान भण्डारण गरेर बेच्नेतिर भने खासै चासो लिइरहेको पाइँदैन ।

मन्त्रालयले यो वर्ष धान कति उत्पादन भयो भन्ने तथ्यांक पनि ल्याउन चाहेको देखिँदैन । मन्त्रालयले गत वर्षको जत्तिकै उत्पादन भएको बताउँदै आए पनि खास तथ्यांक भने सार्वजनिक गरेको छैन । गत वर्ष ५२ हजार ३१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको उत्पादनलाई उत्साहजनक मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्