किन दोहोरिरहन्छ सभामुख महराको गल्ती ?


काठमाडौँ, २४ जेठ । ‘जनयुद्धकालीन’ भूमिगत राजनीतिअगावै ०४८ मा रोल्पाबाट सांसदमा निर्वाचित भएर  डेढ दशकको संसदीय राजनीतिक अनुभव सँगालिसकेका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक संचालनमा देखाएको केही कमजोरी अहिले संसद र सिंहदरबारमा चर्चाको विषय बन्न थालेको छ ।
त्यसो त, संसद बैठक आह्वानलगत्तै राष्ट्रपति विद्या भण्डारीको पहिलो सम्बोधनमा विगतको अभ्यासविपरित रोष्ट्रम छेउमै उपराष्ट्रपति नन्दकिशोर पुनलाई आसन छुट्याइएको विषयदेखि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिकै दोस्रो सम्बोधनमा उनको अनुपस्थितिमा प्रतिनिधिसभा प्रमुखको हैसियतमा महराकै नाम जोडिने गरेको छ । परम्परा र अभ्यास विपरित पहिलो पटक रोष्ट्रममा उपराष्ट्रपतिलाई छुट्याइएको आशनको गल्ती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन अर्थात गत ७ जेठमा सच्याइएको थियो । तर, अघिल्लो पटक राष्ट्रपतिकै लहरमा बसेका उपराष्ट्रपति पुन ः पछिल्लो पटक दर्शक दीर्घाअगाडिको सिटमा बस्नुपर्ने थाहा पाएर घुमाउरो असन्तुष्टि जनाउँदै अनुपस्थित भए ।

जबकी अघिल्ला उपराष्ट्रपति परमानन्द झा भने दर्शकदीर्घा अघि छुट्याइएकै सिटमा आसनग्रहण गर्थे । कमजोरीको श्रृंखला सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कार्यसूचिमा पनि दोहोरिएपछि भने सभामुख महराको संसद संचालनको तरिकाप्रति सांसदहरु नै आश्चर्यचकित भएका थिए । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा बोलेलगत्तै सत्ता पक्षबाटै नेकपाकी सांसद तथा  पूर्वसभामुख ओनसरी घर्तीले समर्थनमा आफ्ना धारणा राखेकी थिइन् ।
तर, प्रमुख विपक्षीका तर्फबाट कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रममा संशोधन नै नराखी प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई स्थापित अभ्यासविपरित सभामुख महराले बोल्न समय दिए । उनले भेउ नपाएर या महासचिव मनोहरप्रसाद भट्टराईले सुझाएकै कार्यसूचीअनुसार सदन बैठकमा देउवालाई बोलाएको हुन पनि सक्छन् तर जे होस् उनीबाट कमजोरी भएको सांसददेखि संसदका कर्मचारीहरु नै स्वीकार गर्छन्  । पूर्वसभामुख सुबास नेम्बाङ र ओनसरी घर्तीको तुलनामा वतर्मान सभामुख महराले प्रभावकारी कार्यसम्पादन गर्नेमा शंका गर्नुपर्ने अबस्था आएको बताइन्छ । त्यसो त, सभामुख महराले संंसद संचालनमा देखाएको यो कमजोरी कुनै नौलो रहेन ।
हिउँदे र वर्षे अधिवेशनसँगै संसद सुरु भएको साँढे तीन महिना बितिसक्दा पनि संसद संचालनसम्बन्धि नियमावली पास गराउन गम्भीर पहल लिन नसकेकोमा पनि उनको आलोचना बढिरहेको छ । तर, आलोचनाकै बीचमा शुक्रबार संसद बैठकबाट संसद संचालनसम्बन्धि नियमावली पास गर्ने तयारी भइरहेको सभामुख महरा निकटले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्