किन भयो ‘छक्कापञ्जा’ को यति धेरै आलोचना ?


पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली जनशक्ति अचम्मलाग्दो गरी घट्न पुगेको छ । त्यसमा दुई वटा कारण जोडिएका छन् । एउटा हो– अधिकांश नेपाली युवाहरु रोजगारीका निम्ति खाडी मुलुकहरुमा जाने गर्दछन् । खासगरी, अर्धदक्ष र अदक्ष नेपाली कामदारहरुका लागि खाडी मुलुक आकर्षकको केन्द्र बन्दै आएको छ । तर, अचेल खाडी मुलुकहरुका तीव्र गर्मीमा पसिना बगाउनुभन्दा भूकम्पपछि पुनर्निर्माणका काममा लाग्दा नै उताको कमाइ यतै हुने भएपछि वैदेशिक रोजगारीमा जाने क्रम घट्न पुगेको छ ।

अर्को कारण, खाडी मुलुकहरुमा जति नेपाली कामदार जानुपर्ने हो, त्यति संख्यामा गइसकेका छन् । र, नयाँ कामदारहरु स्वदेशमै रोजगारी पाउने भएपछि ती मुलुकहरुमा जान त्यति लालायित देखिँदैनन् । र, तेलको मूल्यमा आएको ¥हासका कारण पनि खाडी मुलुकहरुले विगतका तुलनामा बाह्य देशहरुबाट कामदार लिने क्रमलाई घटाएका छन् । त्यसो त, खाडी बाहेक अरु मुलुकहरुमा पनि नेपालीहरु रोजगारीका लागि गइरहेका छन् ।

तर, वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुका परिवारभित्र उत्पन्न विखण्डन र त्यसले सामाजिक जीवनमा देखिएको विसंगत पक्षलाई केन्द्रीय विषय बनाएर निर्माण गरिएको चलचित्र ‘छक्कापञ्जा’ को भने सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको छ । नेपाली सिने उद्योगमा राम्रो मुनाफा कमाउन सफल उक्त चलचित्र चलचित्र–भवनहरुमा प्रदर्शन हुँदाताका भने आलोचनाको घेरामा उभिएको थिएन । तर, पाइरेसीका कारण सो चलचित्र सार्वजनिक भएपछि भने उक्त चलचित्र सामाजिक सञ्जालहरुका आलोचनाको घेरामा परेको छ ।

आखिर, हलहरुमा रामै्र कमाइ गरेको, प्रशस्तै मुनाफा कमाउन सफल रहेका र चर्चित कलाकारहरुको अभिनयले सिंगारिएको सो चलचित्रप्रति किन नकारात्मक टिप्पणीहरु चले त ? यो प्रश्न अहिले उठ्न पुगेको छ ।

‘छक्कापञ्जा’ ले नेपाली समाजको कथा बोके पनि त्यो कति यथार्थको तहमा उक्लिएको छ ? अहिले धेरैले यही प्रश्न खोज्न थालेका छन् । तर, सो चलचित्रले आलोचनाको घेरामा उभिनुका पछाडि भने केही कारणहरु लुकेका छन् ।

पछिल्लो समय नेपाली चलचित्रले पछ्याएको विषयमध्ये द्वन्द्वकालीन परिवेश पनि एक हो । दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएका र अभिनयसमेत गरेका यसअघिका चलचित्र ‘वडा नम्बर ६’ पूरै द्वन्द्वकालीन समयको कथा थियो ।

‘छक्कापञ्जा’ मा पनि द्वन्द्वकालीन समयको चित्रण प्रस्तुत गर्न खोजिएको छ । पश्चिम नेपालको अछामबाट विस्थापित भएर अर्कै भूभागमा पुगेका राजा (दीपकराज गिरी) कै वरिपरि फिल्म घुमेको छ । राजाकै सान, बदमासी र प्रवृत्तिलाई फिल्मले पछ्रयाएको छ ।

तर, फिल्ममा देखाइएजस्तो द्वन्द्वकालमा ग्रामीण क्षेत्रमा आवारा प्रवृत्ति रहेको थिएन । राज्य र विद्रोही दुवै शक्तिको प्रहारको निशानामा थियो, आवारागर्दी । फिल्ममा देखाइजस्तै चोक–चोकमा क्यारामबोर्ड खेलेर बस्ने अवस्था थिएन, त्यतिबेला । तसर्थ, यो फिल्मले तत्कालीन काल र परिस्थितिको प्रतिनिधित्व गर्दैन ।

बिहे नेपाली समाजको एक अपरिहार्य पक्ष हो । तर, बिहेप्रति नकारात्मक धारणा स्थापित गर्ने उद्देश्य फिल्मले लिएको देखिन्छ । यस्तो धारणा समाजभित्रका एकाध व्यक्तिहरुमा होलान् तर बिहेप्रतिको नकारात्मक धारणा र प्रस्तुतिलाई हेर्दा यो फिल्मले समग्र नेपाली समाजको प्रतिनिधित्व गर्ने देखिँदैन ।

एउटा रुढिवादी मान्यता छ, स्त्रीको चरित्र र पुरुषको भाग्यलाई कसैले पनि जानेको हुँदैन । यही रुढिवादी मान्यतालाई फिल्ममा स्थापित गर्न खोजिएको छ ।

समाजमा पुरुषहरु चरित्रवान हुन्छन् र नारीहरु चाहिँ चरित्रहीन हुन्छन् भन्ने पुरातन, रुढिग्रस्त मान्यतालाई स्थापित तुल्याउने दिशा र ध्याउन्नातिर फिल्म केन्द्रित रहेको देखिन्छ ।

के नेपाली नारीहरु चारित्रिक हिसाबले ‘स्त्रीयां चरित्रतम्…’ बाट अझै माथि उठ्न सकेका छैनन् ? यस्तो प्रश्न उब्जाएको छ यो फिल्मले । एक हिसाबले नारीहरुप्रति नकारात्मक सन्देश र धारणा फैलाउन फिल्म उद्यत देखिएको छ ।

राजा साहेबको काम नै वैदेशिक रोजगारीमा जानेहरुका पत्नीलाई पछ्याउनु रहेको देखिन्छ । एकाध थलोमा यस्ता घटना भए होलान् । तर, सिंगो नेपाली समाजको प्रतिनिधित्व भने यो फिल्मले गर्दैन । केवल यसले नकारात्मक सन्देश प्रवाह गर्ने काम मात्रै गरेको देखिन्छ ।

समग्रमा, नेपाली समाजभित्रका विसंगत पक्षलाई देखाउन ‘छक्कापञ्जा’ तम्सिए पनि त्यसले गलत सन्देशमात्र प्रवाह गरेको हुँदा यो फिल्मले बढी नै आलोचना खेप्नु परेको हो । वैदेशिक रोजगारीका कारण नेपाली समाज र परिवारभित्र विखण्डनको बिजारोपण भएको कुरालाई बढाइचढाइँ गरेर बनाइएको यो फिल्मले व्यावसायिक रुपमा जुन सफलता हात पार्यो, त्यो नेपाली फिल्म उद्योगका लागि सुखद् पक्ष हो ।

तर वैदेशिक रोजगारीले नेपाली समाज र परिवारभित्र ल्याएको आर्थिक समृद्धिबारे भने ग्रामीण भेकका महिलाले मोबाइल फोन बोक्न थालेको भन्दा अरु उल्लेखनीय पक्षहरुलाई ओझेलमा पार्न चाहेको हुँदा यो फिल्मले समाजको एउटा पाटोलाई मात्र समात्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्