किन लिए निधिले राजीनामा फिर्ता ?


२१ वैशाख । सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद्हरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि असहमति जनाउँदै राजीनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच दिनपछि राजीनामा फिर्ता लिएका छन् । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै गृहमन्त्री निधिले राजीनामा दिएपछि निर्वाचनको सुरक्षा प्रबन्धबारे प्रश्न उठ्न पुगेको थियो ।

तर, बिहीबार बिहान बालुवाटार पुगेपछि निधि राजीनामा फिर्ता लिन सहमत भएका हुन् ।उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा फिर्ता लिन आग्रह गरेपछि सोही आग्रह स्वीकारेर राजीनामा फिर्ता लिन सहमत भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भएको छलफलमा राजीनामा फिर्ता लिन सहमत भएपछि निधि आजैदेखि मन्त्रालय जान तयार भएका छन् । राजीनामा दिएपछि उनले मन्त्री निवास पनि छाडेका थिए ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्