किर्ति आजादको अभिव्यक्ति निन्दनीयः भारतीय जनता पार्टी


काठमाडौं, १ जेठ । भारतीय जनता पार्टीले सांसद किर्ती आजादको नेपाल सम्बन्धी अभिव्यक्ति निन्दनीय भन्दै खण्डन गरेको छ । भाजपाका महासचिव एवं विदेश विभागका प्रमुख विजय चौथाइवालेले मंगलबार सामाजिक सञ्जाल ट्वीटमार्फत आजादको अभिव्यक्ति निन्दनीय भन्दै खण्डन गरेका हुन् ।
लामो समयदेखि आजाद निलम्बित रहेको भन्दै उनले नेपालको राष्ट्रियता र भौगलिक अखण्डताको भारतले सँधै सम्मान गर्ने स्पष्ट पारेका छन् । साथै उनले विवादस्पद अभिव्यक्ति नेपाल–भारत सम्बन्धमा आँच पुरयाउने दुराग्रहबाट प्रेरित रहेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला २८ वैशाखमा आजादले जनकपुर मिथिला भूमिलाई भारतमा गाभ्नु उपयुक्त हुने विवादस्पद अभिव्यक्ति दिएका थिए । त्यस्तो विवादस्पद अभिव्यक्तिबारे नेपालको संसदमा प्रश्न उठ्नुका साथै राजनीतिक दलहरुले निन्दा गरेर सरकारको धारणा मागिरहेका बेला भारतीय सत्तारुढ दल भाजपाका तर्फबाट महासचिव चौथाइवालेले खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्