किसान आयोगको अध्यक्षमा चित्रबहादुर पक्का


२६ माघ । नेकपा (माओवादी–केन्द्र) को जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई राष्ट्रिय किसान आयोगको अध्यक्ष बनाउने तयारी थालिएको छ । राज्य मन्त्री सोसरहको सुविधा हुने उक्त आयोग पहिलो पटक गठन हुन लागेको हो ।

कृषि विकास मन्त्रालयले गएको फागुन २१ गते एउटा सूचना प्रकाशित गरी फागुन २५ गतेभित्र आयोगको अध्यक्ष र सदस्यहरुका लागि आवेदन दिन माग गरेको थियो । मन्त्रालय सूत्रका अनुसार, अहिलेसम्म माओवादी केन्द्र निकट श्रेष्ठ र डा. कृष्ण पौडेलले मात्र निवेदन दिएका छन् । सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबाट भने कसैले पनि निवेदन दिएका छैनन् ।

आयोगका अध्यक्षले राज्य मन्त्री सोसरह सुविधा पाउने प्रावधान रहे पनि सो आयोग कृषि विकास मन्त्रालयकै एउटा महाशाखाजस्तो हुने देखिएको छ । आयोगको सदस्य–सचिवमा मन्त्रालयकै प्राविधिक सहसचिव रहने व्यवस्था गरिएको हुँदा मन्त्रीको निर्देशनअनुरुप नै आयोग चल्नुपर्ने देखिएको छ । मन्त्रीको निर्देशनमा चल्नुपर्ने भएको हुँदा आयोग लंगडो बन्न पुगेको जनाइएको छ ।

प्रायः अरु आयोगहरुमा अध्यक्ष र सदस्यहरु नियुक्त हुँदा सम्बन्धित मन्त्रालयले सूचना निकालेर आवेदन दिन लगाउँदैनथ्यो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका राष्ट्रिय दलित आयोग र राष्ट्रिय मुस्लिम आयोग, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गको राष्ट्रिय महिला आयोगमा अध्यक्ष वा सदस्य नियुक्त हुँदा सूचना निकाल्ने गरिएको थिएन । तर, कृषि विकास मन्त्रालयले भने सूचना निकालेर र ‘मुलुकको कृषि विकासका लागि किसान आयोगको भावी कार्ययोजना’ नामक अवधारणापत्र समेत निवेदकलाई लिएर आउन सूचित गरिएको थियो ।

आयोगको अध्यक्षमा पक्कापक्कीजस्तै भएका श्रेष्ठले विगतमा किसानहरुलाई पेन्सन नदिए आफूहरु संघर्षमा उत्रिने बताएका थिए । मन्त्रालयले किसानहरुलाई पेन्सन दिनेसम्बन्धी कार्यविधि पारित गरिसकेको छ । कृषि विकास मन्त्रीमा अहिले माओवादी केन्द्रका गौरीशंकर चौधरी छन् भने यसअघि सोही पार्टीका हरिबोल गजुरेल थिए ।

प्रतिक्रिया दिनुहोस्