कुन जिल्लामा कति क्षेत्र घट्यो ?


१५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । आयोगले बुझाएको प्रतिवेदनमा १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक क्षेत्र निर्धारण गरिएको छ ।

९० प्रतिशत जनसंख्या र १० प्रतिशत भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिएको आयोगले जनाएको छ । जनसंख्यालाई आधार मान्दा काठमाडौं, ललितपुर, भक्तपुर, दैलेख र अछामको भने निर्वाचन क्षेत्र यथावत नै रहेका छन् भने अरु सबै जिल्लाको सिट घट्न पुगेको छ ।

यसरी सिट घट्दा मोरङमा ९ बाट ६ निर्वाचन क्षेत्र रहेको छ । झापामा ७ बाट ५, धनुषामा पनि ७ बाट ५, सर्लाहीमा ६ बाट ५, रुपन्देहीमा ७ बाट ५ र कैलालीमा ६ बाट ५ रहेका छन् । त्यस्तै, सुनसरीमा ६ बाट ४, सप्तरीमा ६ बाट ४, सिरहामा ६ बाट ४, महोत्तरीमा ६ बाट ४, रौतहटमा ६ बाट ४, बारामा ६ बाट ४ र पर्सामा ५ बाट ४ रहेका छन्

३ निर्वाचन क्षेत्र भएको ललितपुरको क्षेत्र यथावत रहेको छ भने चितवनमा ५ बाट ३, कास्कीमा ४ बाट ३, कपिलवस्तुमा ५ बाट ३, दाङमा ५ बाट ३,बाँकेमा ४ बाट ३ र कञ्चनपुरमा ४ बाट ३ क्षेत्र भएका छन् । ३ बाट २ निर्वाचन क्षेत्र हुने जिल्लाहरुमा इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, बागलुङ, सुर्खेत, पाल्पा र बर्दिया रहेका छन् । ४ निर्वाचन क्षेत्रबाट २ मा झर्नेमा भने काभ्रेपलान्चोक र मकवानपुर रहेका छन् । दैलेख र अछामको भने यथावत रहेको छ । नवलपरासी छुट्टिएर बनेको उत्तर नवलपरासी र दक्षिण नवलपरासीमा भने २–२ निर्वाचन क्षेत्र कायम रहेका छन् ।

यसरी नै, २ बाट एक निर्वाचन क्षेत्र हुने जिल्लाहरुमा पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ,पर्वत, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, जाजरकोट, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन् ।

तेह्रथुम, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, जुम्ला, मुगु, हुम्ला, बाजुरा, कालिकोट, पूर्व रुकुम र पश्चिम रुकुम भने एक–एक निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्