कुलमानले बोर्डलाई नसोधी मच्चाए सरुवा–आतंक


२१ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी–निर्देशक कुलमान घिसिङले प्राधिकरणको सञ्चालक समितिको कुनै सैद्धान्तिक सहमति नलिइकनै उच्च तहका कर्मचारीहरुलाई धमाधम सरुवा गर्न थालेपछि प्राधिकरणमा कर्मचारी र कार्यकारी निदेशकबीच झनै दूरी बढ्न पुगेको छ । आफू नियुक्त भएपछि विरोध जनाउने उच्च तहका कर्मचारीहरुलाई घिसिङले केही समययता धमाधम सरुवा गर्न थालेका छन् ।

तिहारअघि कार्यकारी–निर्देशक घिसिङले केही उच्च कर्मचारीहरुको सरुवा गरेका थिए । त्यसमा उनको नियुक्तिपछि कानुनी उपचारको बाटो खोज्ने तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुनीलकुमार ढुंगेललगायत थिए । १२औं तहका ढुंगेललाई सो हाइड्रोपावरबाट हटाएर ११ औं तहका प्रदीपकुमार थिकेलाई पठाइएको थियो । त्यसैगरी, चिलिमे हाइड्रोपावरका प्रशासकीय प्रमुख ११ औं तहका रामगोपाल सिवाकोटीलाई हटाएर १०औं तहका दामोदरभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो । यसबाहेक मध्यभोटेकोसी जलविद्युत आयोजनामा श्रीराम पाण्डेलाई, कालीगण्डकी जलविद्युत आयोजनामा राजेश पाण्डे, मध्यमस्र्याङ्दी जलविद्युत आयोजनामा पशुपति गौतम र रसुवागढी जलविद्युत आयोजनाको प्रमुखमा लोकेन्द्र थापालाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरणभित्रका कुनै पनि कर्मचारीको सरुवा गर्नुअघि सञ्चालक समितिले सैद्धान्तिक सहमति दिनुपर्छ । तर, कार्यकारी–निर्देशक घिसिङले भने बोर्डसित सैद्धान्तिक सहमति नलिइकनै विभिन्न जलविद्युत आयोजनाका प्रमुखहरुलाई सरुवा गरेको बुझिएको छ । बोर्डलाई नै चुनौती दिएर सरुवा गर्न थालेपछि अहिले घिसिङको कार्यशैलीलाई लिएर प्राधिकरणभित्रै तीव्र विरोध हुन थालेको छ ।

अर्कोतिर, ऊर्जा मन्त्री जनार्दन शर्माले गएको भदौ १ गते प्राधिकरणको वार्षिकोत्सवको अवसरमा ‘आस्थाको आधारमा कुनै पनि कर्मचारीलाई विभेद र सरुवा गरिने छैन’ भनेर बोलेका थिए । मन्त्री शर्माले आयोजनाका प्रमुखहरुको सरुवा गर्नुअघि सबै आयोजना प्रमुखहरुलाई टिओआर दिइने र त्यसअनुरुप काम नगर्ने कर्मचारीहरुलाई मात्र सरुवा गर्ने बताएका थिए ।

तर, मन्त्री शर्माले नै नियुक्त गरेका कार्यकारी–निर्देशक घिसिङले मन्त्रीको कुरालाई लत्याउँदै र विनियमावलीसमेत मिचेर कर्मचारीहरुको सरुवा गर्न थालेपछि प्राधिकरणका कर्मचारीहरुले त्यसको विरोध गर्न थालेका हुन् । यस सम्बन्धमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कार्यकारी निर्देशकलाई ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विनियमावली मिचेर जथाभावी रुपमा सरुवा गर्न थालेपछि आगामी बोर्ड बैठकमा एक जना बोर्ड सदस्यले त्यस विषयमा कुरा उठाउने भएका छन् । ती बोर्ड सदस्यले घिसिङको मनपरी विरुद्ध कुरा उठाउन लागेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्