कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान वृद्धि हुने


१३ साउन । आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ ।

“यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भन्नुभयो । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ ।

नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग रु २५ अर्बको चामल आयात गरेको थियो । तर यस वर्ष सो आयातमा कमी आउने दाबी कृषि विकास मन्त्रालयले गरेको छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैतेधान, बर्खे धान र घैया धानको खेती हुँदै आएको छ ।

धान रोपाइँ गर्ने प्रमुख मौसम असार र साउन महिनामा पर्याप्त वर्षा भएकाले उत्पादनमा वृद्धि हुने भएको हो । साउन १० गतेसम्म करिब ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । पूर्वाअञ्चलमा ७१, मध्यमाञ्चलमा ७७, पश्चिमाञ्चलमा ९२, सुदूरपश्चिमाञ्चलमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दार्चुला, बजाङ, डँडेल्धुरामा रोपाइँ सम्पन्न भएको छ ।

मनाङ, मुस्ताङबाट धान रोपाइँको तथ्याङ्क आउन बाँकी छ । तराईको सप्तरी र सिराहामा धमाधम धान रोपाइँ भइरहेकाले यकिन तथ्याङ्क आउन बाँकी छ । यद्यपि साउन मसान्तभित्र करिब ९५ प्रतिशत जमिनमा रोपाइँ हुने विश्वास गरिएको छ । गत वर्ष साउन मसान्तमा करिब ७० प्रतिशत जमिनमा रोपाइँ भएको थियो ।

गत वर्षभन्दा यस वर्ष २५ प्रतिशत बढी जमिनमा रोपाइँ हुने अनुमानले कृषि क्षेत्रमा सुखद अनुभूति गर्न सकिने वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेत बताउनुहुन्छ । जम्मा ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिन्छ । जसमध्ये लगभग ५० प्रतिशत जमिन धानखेती गर्न योग्य छ । तर, सिँचाइ सुविधा नहँुदा आकासेखेतीमा निर्भर हुनुपर्छ । धान लगाउने मौसममा वर्षा भएन भने सिफारिस भएजति जमिनमा रोपाइँ हुन सक्दैन ।

बर्सेनि धानखेती गर्ने जमिन घटिरहेको छ । यस वर्ष समयमा वर्षा भएकाले अहिलेसम्म ११ लाख ९२ हजार ९१० हेक्टर क्षेत्रफलमा धानखेती भइसकेको छ । यस वर्ष कुल १४ लाख २५ हजार ३४६ हेक्टर जमिनमा धान खेती गर्न मन्त्रालयले सिफारिस गरेको थियो ।

धान उत्पादन गर्ने जमिन एकनासले प्रयोग भएको छैन । आव २०६९÷७० मा १५ लाख ३१ हजार ४९३, आव २०७०÷७१ मा १४ लाख २० हजार ५७० र आव २०७१÷७२ मा १४ लाख ८६ हजार ९५१ हेक्टर जमिन धानखेती गर्न योग्य मानिएको थियो । तर उक्त जमिन कहिले बढी खनजोत भई खेती गरिने र कहिले बाँझिने क्रमले आयातमा वृद्धि हुँदै गएको पाइन्छ ।

खेतीयोग्य जमिनको प्रयोग एकनास नभएकाले उत्पादनमा कमबेसी भएको छ । आव २०६९÷७० मा ५० लाख ७२ हजार २४८, आव २०७०÷७१ मा ४५ लाख ४५ हजार तीन र आव २०७१÷७२ मा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । गत आव २०७२÷७३ मा करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । नेपालीका लागि लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश पनि नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ ।

संसारमा कुल जनसङ्ख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना भात नै हो । एसियाली देशहरुमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको पाइन्छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो रहेको छ । सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ वटा धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ वटा जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्