कृष्णनगर झडपमा गोली लागेर एकको मृत्यु, कर्फयू जारी


कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुको कृष्णनगरमा भएको दुई समूहको झडपलाई नियन्त्रणमा लिने क्रमका प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि तनाव झन भड्किएको छ । मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ति विर्सजन गर्ने क्रममा हिन्दू र मुसलमान समुदायाबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले आज कृष्णनगर बसपार्कमा रहेको पुलिस बिट समेत जलाई दिएका छन् । अहिले कृष्णनगरमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ । कफ्र्यू आदेश जारी भएपनि प्रदर्शनकारीले समूह बनाई प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्