केन्द्रीय समितिले नै छिनाफानो गर्ने भो चुनावको टुंगो


२२ साउन । स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयले मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी, नेपालभित्र भाँडभैलो उत्पन्न भएपछि अब चुनावको विषयमा केन्द्रीय कार्यसमितिलाई जिम्मा दिने भएको छ । ८ सय १५ जनाको जम्बो केन्द्रीय समितिको आइतबारदेखि बस्ने बैठकले चुनावबारे टुंगो लगाउने भएको छ । केन्द्रीय पदाधिकारीको बैठकमा चुनावको पक्षमा जानुपर्ने आवाज प्रखर रुपमा उठेपछि वरिष्ठ नेता महन्थ ठाकुरलगायत त्यसको पक्षमा रहेका थिएनन् ।

चार दिनसम्म काठमाडौंमा बसेको राजपाको पदाधिकारीको बैठकले भने चुनावमा जाने वातावरण नभएको निष्कर्ष निकालेको थियो । संविधान संशोधन विधेयक पारित नभई २ नम्बर प्रदेशको निर्वाचनमा जाँदा प्रत्युत्पादक सावित हुने ठहर गर्दै चुनावमा भाग लिन उपयुक्त नहुने निष्कर्ष निकालेको हो । तर, पदीय मर्यादाका कारण असन्तुष्ट रहेका हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरुले बहिस्कार गरेको उक्त बैठकमा अधिकांश उपाध्यक्षहरुले भने निर्वाचनमा जानुपर्ने कुरा उठाएका थिए । उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, अजय गुप्तालगायत भने चुनावमा जानुपर्ने पक्षमा रहेका छन् ।

गएको वैशाखमा मात्रै ६ वटा मधेसी दल मिलेर बनेको राजपाभित्र पछिल्ला दिनहरुमा चुनावमा भाग लिनुपर्ने पक्षमा अधिकांश नेताहरु उभिए पनि नेतृत्वमा तह भने सहमत देखिएको छैन । राजपाको नेतृत्व तहमा रहेका केही नेताहरुले संविधान संशोधन नभई चुनावमा जान नहुने अडान लिइरहेका कारण त्यस्तो स्थिति उत्पन्न भएको हो । संसद्मा संशोधन विधेयक पारित गराउन आवश्यक संख्या नपुग्ने भएपछि संशोधन गराउने जिम्मा लिएको सरकारले पनि संशोधन विधेयकप्रति त्यति चासो देखाइरहेको छैन ।

राजपाले दोस्रो चरणको निर्वाचन बहिस्कार गरे पनि स्थानीय तहका कार्यकर्ताहरुले भाग लिएका हुँदा २ नम्बर प्रदेशको चुनावमा भाग लिनुपर्ने दबाब भने केन्द्रीय समितिलाई पर्ने देखिएको छ । २ नम्बर प्रदेशको निर्वाचनमा पार्टीले भाग नलिए पनि कार्यकर्ताहरु चुनावमा लड्ने मनस्थितिमा रहेका हुँदा कार्यकर्ताको भावनाको कदर गर्दै चुनावमा भाग लिनुपर्ने दबाब राजपाका नेताहरुमाथि पर्ने बताइन्छ ।

बुधबारदेखि शनिबारसम्म बसेको पदाधिकारीहरुको बैठकले २ नम्बर तहको स्थानीय निर्वाचनमा भाग लिने वा बहिस्कार गर्ने भन्ने विषयमा कुनै टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिलाई जिम्मा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्