केपी ओलीका पनि दाइ योगेश भट्टराई !


१० फागुन । नेकपा (एमाले) मुख्यालय धुम्वाराहीमा मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ बाट सुरु हुने ‘मेची–महाकाली राष्ट्रिय अभियान’ को कार्यालय उद्घाटन गर्ने कार्यक्रम थियो । मंगलबार नै एमाले स्थायी कमिटीको बैठक भएकाले त्यहाँ शीर्ष नेताहरुको समेत उपस्थिति थियो । त्यस कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोख्रेललगायतका नेताको पनि उपस्थिति थिए ।

जब एमाले अध्यक्ष ओली मुख्यालयमा प्रवेश गरे । त्यस लगत्तै त्यहाँ चहल–पहल पनि निकै बाक्लो भयो । मुख्यालयको मुख्य प्रवेशद्धारमै गाडीबाट ओर्लिएका ओलीलाई केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य ठाकुर गैरे, सूर्य थापालगायतले कार्यालय उद्घाटन स्थलतर्फ लगे ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई भने गेट बाहिर नै बसे । तर, ओलीले गेट बाहिरै बसेका भट्टराईलाई इशारा गर्दै आफू नजिक आउन आग्रह गरे । ओलीले नै बोलाएपछि छेउमा पुगेका भट्टराईलाई ‘योगेश दाइ मेरै छेउमा उभिनु’ भनेपछि भट्टराई हल्का मुस्कुराए । अधिकांश कार्यकर्ताले ‘योगेश दाइ’ भनेर सम्वोधन गर्दा सहज मान्ने भट्टराई पार्टी अध्यक्षले नै ‘दाइ’ सम्वोधन गर्दा भने केही लजाए पनि ।
जब कार्यालय उद्घाटन भयो अनि सबै तल हलतिर लागे ।

ओलीले अभियानबारे सम्वोधन गर्ने कार्यक्रम भएकाले अरु नेता पनि तल हलतिरै ओर्लिए । कार्यालय उद्घाटन गर्दा बोलाएरै आफ्नो छेउमा राखेका ओलीले तल हलमा पनि भट्टराईलाई छाडेनन् । ‘सबैका योगेश दाइ, यता आउनुहोस्’ भन्दै आफ्नै छेउमा लगेर राखे । भट्टराईलाई छेउमा राखेर ओलीले ‘मेरो पनि योगेश दाइ’ भनेपछि हलभरी एकछिन हाँसो फैलियो ।

ओलीको मात्र के कुरा । भट्टराईको पनि ओलीमोह कम छैन । केही दिन अघि मात्र भट्टराईले अध्यक्ष ओलीसँग खिचेको एक तस्बिर सामाजिक सञ्जालमा ‘फोटो अफ द डे’ भनेर पोष्ट गरे । ‘पोलिट्व्युरो वैठक’पछि भन्दै पोष्ट गरेको त्यस तस्बिरमा करिब तीन हजार लाइक आएका छन् भने झण्डै सय जनाले कमेण्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्