संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रको प्रतिवाद गर्छौँः गुरुङ


२७ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य किरण गुरुङले स्थानीय निर्वाचन नगर्नका लागि विभिन्न चलखेल भैइरहेको आरोप लगाएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले संविधान कार्यान्वयन गर्न नदिनका लागि भैइरहेको षड्यन्त्रलाई एमालेले निस्तेज पार्ने पनि चेतावनी दिए । ‘एमालेले त्यस्ता कुराको प्रतिवाद गर्छ,’ उनले भने । उनले सिङ्गो संसार हाँक्न सक्ने क्षमता युवाहरुमा भएको पनि बताए ।

‘युवा उदाउँदो सुर्य हुन्,’ गुरुङ्ले भने, ‘परिवर्तनको संवाहक पनि युवा हुन् । युवा विना कुनै मुलुक मात्रै नभएर सिङगो विश्न नै अघि बढ्न सक्दैन ।’ उनले संसारमा भएका हरेक परिवर्तन युवाकै त्याग र बलिदानीका कारणले सम्भव भएको दाबी गरे । पूर्व मन्त्रीसमेत रहेका गुरुङले राज्यलाई युवाको मनोवैज्ञानिक धारणालार्ई बुझेर विकास र युवामैत्री निति बनाउन सुझाव दिए ।

कार्यक्रममा युवा संघ नेपालका महासचिव किरण पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मिसन र एक्सनले मात्र मधेसको मुहार फेर्ने दावी गरे । उनले केपी ओलीबिरुद्ध मधेसी ‘सेन्टिमेन्ट’ भड्काउने ‘डिजाइन’ साम्राज्यवादी ,विस्तारवादी र त्यसका मतियारहरुेको रहेको पनि आरोप लगाए । उनले केपी ओलीको सपना पूरा नहुँदासम्म युवाहरुको सपना पूरा नहुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्