‘केपी शर्मा ओली अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट होइन’


१२ मंसिर  । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट नभएको बताएका छन् । युवा संघ नेपाल प्रचार विभागले आयोजना गरेको ‘युवा आवाज आधार र कार्यभार’ नामक पुस्तक लोकार्पाण कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । ‘मैले कुनै सन्दर्भमा भनेको कुरा यो पुस्तकमा लेखका रुपमा छापेको रहेछ,’  ओलीले भने, ‘मैले त्यो सन्दर्भमा भनेका कुरा अहिलेमा केही पनि फरक छैन । म अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट जस्तो होइन त्यसैले मेरो विचार र अडानमा केही फरक छैन ।’

करिब ३५ मिनेट सम्बोधन गरेका ओलीले रातो र तातो रगत भएका नेपाली युवाहरु कहिल्यै नझुक्ने भन्दै एमाले रातो र तातो रगत भएका युवाहरुको पार्टी भएको पनि उल्लेख गरे । ‘पूर्खाहरु कहिल्यै झुकेनन्, हिमालको चिसो पानी खाएका हामी पनि झुक्ने कुनै संभावना छैन,’  उनले भने कहिले काहिँ केही साथीहरु तातो रगत चिसो बन्न खोजे जस्तो गर्छन् । एमालेले त्यस्तो हुन दिदैँन ।’

उनले नेपालले कसैको पनि अहित नसोचेको भन्दै आफू पनि कसैले आएर टाउकोमा टेक्न खोज्छ भने सहेर नबस्ने चेतावनी दिए । ‘हामी कसैको अहित सोच्दैनौँ,’ ओलीले भने, ‘त्यसैले हामी हाम्रो एक इञ्च भूमि पनि सकैलाई प्रयोग गर्न दिदैनौँ ।’

आन्दोलनका लागि तयार हुनुहोस्

कार्यक्रममा ओलीले युवाहरुलाई आन्दोलनका लागि तयार हुन पनि निर्देशन दिए । ‘मैले केही अघि एक कार्यक्रममा भनेको छ ।  देशको अहितमा कोही लाग्छ भने परास्त गर्न आन्दोलनका लागि तयार हुनुहोला,’  ओलीले भने, ‘मुद्धा तराईको मुद्रा मेरो भन्नेहरुका लागि संविधान संशोधन हुँदैन । त्यो गर्न खोजे एमाले आन्दोलनका लागि तयार छ ।’

गुरिल्ला चलाउन पुरक बजेट

माओवादी नेतृत्वको सरकार संक्रमणकालीन व्यवस्थापिका संसद्ले निर्वाचित गरेको सरकार भएको भन्दै ओलीले वर्तमान सरकारलाई बजेट ल्याउने अधिकार नभएको दाबी गर । ‘देश लुट्न र गुरिल्ला चलाउन पुरक बजेट ल्याउने तयारी भएको छ,’ ओलीले भने, ‘यो तमासे सरकारले गर्ने काम केही गरेको छैन । नगर्ने काममा मात्र हतार गरेको छ ।’

पुस्तकमाथि एमाले सचिव प्रदीप ज्ञवाली, युवा संघका पुर्व अध्यक्ष महेश बस्नेत, युवा संघ अध्यक्ष राजीव पहारीलगायतले टिप्पणी गरेका थिए । प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले पुस्तक युवाहरुका लागि गतिलो अध्ययन सामग्री भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्