केबलकार चलेपछि चन्द्रागिरीमा भीड


१४ भदौ । पृथ्वीनारायण शाहले दर्शन गरेर नेपाल एकीकरण अभियान थालेको चद्रागिरी पहाडको भालेश्वर मन्दिरको महत्व अहिले निकै बढेको छ । व्यवसायी चन्द्र ढकालले त्यस क्षेत्रमा केबुलकार सञ्चालनमा ल्याएपछि अहिले भालेश्वर मन्दिर र त्यस आसपास क्षेत्रको गरिमा निकै बढेको हो ।

केबुलकार सञ्चालनमा आएँसँगै त्यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको भीड बढेको छ । ‘पहिला पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियान यही मन्दिरको दर्शन गरेर सुरु गरेका थिए,’ चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने ‘अब हामीले यहाँ केबुलकार सञ्चालनमा ल्याएर आन्तरिक पर्यटन एकीकरणको सुरुवात गरेका छौँ ।’

आन्तरिक र बाह्य पर्यटकका लागि केबुलकारको मज्जा लिन र भालेश्वर मन्दिरको दर्शन गर्नका लागि मात्र होइन परिवारसहित मनोरञ्जन गर्नका लागि पनि चन्द्रागिरी एक आकर्षक गन्तव्य बनेको छ । ‘प्रि ओपनिङ गरिएकै अवस्थामा पनि आन्तरिक र बाह्य पर्यटक र सर्वसाधारणको भीड लागेकाले हामी निकै उत्साहित भएका छौँ,’ शाहले भने, ‘हामी दशैँ अघि नै व्यवसायिक रुपमै केबुलकार सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’

मान्छे बोक्न ३८ गुण्डोला

14100255_10210353624856383_4797133693316456273_n

स्वदेशी प्राविधिकबाट निर्माण गरिएको चन्द्रागिरीको केबुलकार नेपालकै पहिलो भएको पनि शाहले जानकारी दिए । ‘हामीले सबै प्राविधिक नेपालकै प्रयोग गरेका छौँ, आइएमीका जनसम्पर्क व्यवस्थापक राजु पौडेलले भने, ‘केही प्राविधिक सल्लाह विदेशीसँग लिए पनि नेपालका लागि नेपालकै प्राविधिकले सम्पन्न गरेको यो पहिलो हो ।’ पौडेलले अहिले ३८ वटा गुण्डोलाले मान्छे बोक्ने गरेको जानकारी दिए । उनले दैनिक ८ सय ५० मानिसले केबुलकारमा ओहोर–दोहोर गर्ने गरेको पनि जानकारी दिए ।

एउटा गुण्डोलामा ८ जना

पैडेलले एउटा गुण्डोलामा एक पटकमा बढीमा ८ जनाले मात्र यात्रा गर्न सक्ने बताए । सुरुको पोइण्टबाट भालेश्वर मन्दिरसम्म केबुलकारमा पुग्न ८ देखि १४ मिनेटसम्म लाग्ने पनि उनले जानकारी दिए । ‘हामीले यो केबुलकार डिजिटल प्रविधिबाट सञ्चालन गरेका छौँ,’ उनले भने, ‘त्यसैले दर्शनार्थीहरुको माग अनुसार ढिलो–छिटो गर्न मिल्छ । सुरुको पोइण्टबाट माथि भालेश्वर मन्दिर पुग्न ८ देखि १४ मिनेटसम्म लाग्छ ।’

भाडादार फरक–फरक

केबुलकारको भाडादर पनि फरक–फरक राखिएको पौडेलले जानकारी दिए । उनका अनुसार नेपालीलाई दुईतर्फी भाडादर ७ सय राखिएको छ भने एकतर्फी भाडादर ४ सय १५ रहेको छ । सार्क देशका लागि दुईतर्फी ७ सय भारु र एकतर्फी ४ सय १५ राखिएको छ । अन्य देशलाई भने दुईतर्फ २२ डलर र एकतर्फी १३ डलर कायम गरिएको छ ।

स्थानीय र बृद्धबृद्धालाई विशेष छुट

त्यसैगरी विद्यार्थी, स्थानीय र बृद्धबृद्धालाई विशेष छुटको व्यवस्था गरिएको छ । पौडेलका अनुसार तीन फीट भन्दा मुनीको बच्चालाई निशुल्क गरिएको छ भने तीनदेखि चार फिटसम्मको बच्चालाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । शारीरिक अशक्तता भएका व्यक्तिलाई ५० प्रतिशत र डिफरेण्टेलीएवललाई ५० प्रतिशत छुट गरिएको छ । विद्यार्थी र स्थानीयलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

फनकपार्क र पार्किङ

भालेश्वर मन्दिरको दर्शनसँगै केटाकेटीलाई खेल्नका लागि पनि त्यहाँ फनपार्कको व्यवस्था गरिएको छ । केबुलकारकै टिकटमा निशुल्क केटाकेटीले खेल्न र मनोरञ्जन गर्न पाउँने पौडेलले जानकारी दिए । त्यसैगरी मोटरसाईकल र गाडीका लागि त्यहाँ छुट्टा–छुट्टै पार्कको व्यवस्था गरिएको छ । कम्तीमा पनि तीन सय मोटरसाईकल र तीन सय गाडी एकै पटक त्यहाँ पार्किङ गर्न सकिन्छ ।

रेष्टुरेस्ट र सभाहल

चन्द्रगिरीमा केबुलकारको मनोरञ्जन लिन जानेहरुले त्यहाँको दृष्यसँगै सुविधानसम्पन्न रेष्टुरेन्टमा बसेर मन लागेको खान पाउँछन् भने भेला वा बैठक गर्नका लागि पनि त्यहाँ हलको व्यवस्था गरिएको छ । एक पटकमा कम्तीमा एक सय जनासम्म त्यो हलमा बसेर बैठक गर्न सक्ने पौडेलले जानकारी दिए ।

चार अर्वको योजना, तीन अर्ब खर्च भइसक्यो33

आईएमई ग्रुपका अध्यक्ष चद्रप्रसाद ढकालको चार अर्वको लगानीमा सञ्चालनमा ल्याएको चन्द्रागिरी केबुलकार सञ्चालका लागि अहिलेसम्म तीन अर्व माथि खर्च भएको छ । भ्युटावरदेखि सुविधासम्पन्न होटलको समेत व्यवस्था भएको त्यहाँ रिसोर्ट पनि बन्दै गरेको पौडेलले जानकारी दिए ।

तल १ सय २० रोपनी, माथि ३६ हेक्टर

थानकोट त्रिभुवनपार्क नजिकैबाट करिब डेढ किलोमिटरको यात्रापछि चन्द्रागिरी पुग्न सकिन्छ । करिब १ सय २० रोपनी क्षेत्रफलमा रेष्टुराँसहित पार्किङ र अन्य सुविधा रहेको त्यस क्षेत्रबाट केबुलकारको यात्रा तय हुन्छ । झण्डै साढे दुईकिलोमिटरको यात्रा केबुलकारबाट गरेपछि भालेश्वर मन्दिर पुगिन्छ । त्यहाँ पनि करिब ३६ हेक्टर क्षेत्रफलमा सभाहल, रेष्टुराँ, मन्दिर र फनपार्क रहेका छन् । एक पटक त्यहाँ पुग्ने जो–कोहीले पनि स्वर्ग पुगेको अनुभूति गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्