केही दिनलाई टर्यो संविधान संशोधन


१७ वैशाख । संविधान संशोधन विधेयक पारित गराउन कस्सिएका सत्तारुढ दलहरु अन्ततः पछि हटेका छन् । संशोधन प्रस्तावमा दुई तिहाइ पुर्याउन जुटेका सत्तारुढ दलहरुले वैशाख १९ गते हुने पहिलो चरणको मनोनयनअघि नै संशोधन प्रस्ताव पारित गराउन चाहेका थिए । तर, व्यवस्थापिका–संसद्को बैठक आउँदो वैशाख २१ गतेसम्म स्थगित भएपछि त्यसअघि संशोधन विधेयक पारित हुने सम्भावना टरेको हो ।

पछिल्लो पटक ल्याइएको संविधान संशोधन विधेयक एमालेलगायत व्यवस्थापिका–संसद्मा रहेका अरु आठ दलले असफल पार्ने तयारी गर्दै आएका थिए । सरकारमा सामेल राप्रपाले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने र १ सिट भएको परिवार दलका एकनाथ ढकालले पनि खुट्टा लर्बराउन थालेपछि उत्साहित भएका सत्तारुढ दलहरुले केही दिनभित्रै प्रस्ताव पारित गर्ने तयारी थालेको थियो ।

तर, आइतबार बसेको राप्रपा संसदीय दलको बैठकले संशोधन प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरे पनि केही सांसद्हरु अनुपस्थित रहेपछि राप्रपाको मत विभाजन हुने सम्भावना देखिएको छ । राप्रपाको मत बाँडिने बित्तिकै संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ नपुग्ने स्पष्टै भएको हुँदा र १ सिटे दलहरुको भर पर्न नसकिने भएको हुँदा दुई तिहाइ पु¥याउन अभ्यास गर्नैका लागि चार दिनलाई बैठक पछि सारेको अनुमान लगाइएको छ ।

तर, मधेस केन्द्रित दलहरुले भने वैशाख १८ सम्म संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने अडानमा रहेका थिए । वैशाख १९ गते पहिलो चरणको निर्वाचनको मनोनयन हुनुअघि नै संशोधन पारित हुनुपर्नेमा मधेसी दलहरुको माग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्