के कुनै पनि मुलुकको सर्वोच्व न्यायालयलाई नेतृत्वविहीन राख्न मिल्छ ?: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा


काठमाडौ, ११ जेठ । नयाँ सरकार गठन भएको सय दिन पुगेको अवसरमा प्रतिपक्षि दल नेपाली कांग्रेसले दर्शन प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देश सार्वजनिक गर्दै दर्जन प्रश्न उठाएका हुन । उनले भने सरकारले यस बीचमा राम्रो नराम्रो जे काम गरेपनि निरुत्साही हुनुपर्ने ढंगले टिप्पणी गर्दैनौ तर सय दिनमा बहुमत प्राप्त सरकारले जस्तो इच्छाशक्ति देखायो कि देखाएन भनेर प्रतिपक्षले टिप्पणी गर्नु स्वभाविक छ । यो सरकारको राम्रो कामको सहयोग गर्छौ कमी कमजोरी औल्याएर खबदारी गर्छौ ।
उनले सांसद पदको सपथग्रहण नगरिकन प्रधानमन्त्री पदको सपथग्रहण गर्न मिल्दथ्यो भन्दै प्रश्न गरे । कांग्रेस नेतृत्वको सरकारले गरेको राष्ट्रियसभाका तीन जना सदस्य मनोनयनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्नुमा सरकारको मनोवैज्ञानिक दबाब र उत्प्रेरणा रहेको भन्दै शर्माले यसलाई पनि विसंगतिमा राखेका छन ।
राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागजस्ता निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुलाई पनि कांग्रेसले सरकारको विसंगति भनेको छ । मुलुक संघीयतामा गएर शक्तिको विकेन्द्रिकरण भइरहेका बेला सरकारले महत्वपूर्ण निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न नहुने कांग्रेसले बताएको छ । ‘अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई स्मृतिमा नराख्नु विसंगतितर्फको तेस्रो कदम थियो यो सरकारको कांग्रेस प्रवक्ता शर्माले भनेका छन ।
सरकारले संविधान संशोधनलाई बार्गेनिङ चिप्सको रुपमा मात्र प्रयोग गरेको, स्वेतपत्रमा नकारात्मक सूचकमात्र देखाएर ढुकुटी रित्तो छ भन्नुलाई पनि कांग्रेसले विसंगति भनेको छ ।
कांग्रेसले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नुलाई पनि सरकारको विसंगति भनेको छ । ‘के कुनै पनि मुलुकको सर्वोच्व न्यायालयलाई नेतृत्वविहीन राख्न मिल्छ ?सय दिनसम्म न्यायाधीशको टुंगो हुन नसक्नु यो सरकारले न्यायालयलाई गरेको अन्याय हो’ प्रवक्ता शर्माले भनेका छन ।
प्रदेश सरकारलाई बलियो बनाउन कार्यक्रम, ऐन कानुन, बजेट विनियोजन नगर्नु, राष्ट्रवादको विषयमा पनि सरकारको भूमिका विवादास्पद भएको भन्दै शर्माले त्यसलाई पनि विसंगति भनेका छन । ‘चुनावमा जानुअगाडि उग्र राष्ट्रवादको कुरा गर्ने सरकारको नेतृत्वमा पुगेपछि त्यसलाई बिसर्जित गर्ने काम सरकारको अर्को विसंगति हो’ उनले भनेका छन । कर्मचारीको मनोबल गिराउनु, कांग्रेस पार्टीलाई प्रतिपक्ष नै नदेख्नु, अत्यावश्यक सामानको मूल्यवृद्धि हुनु र नीति तथा कार्यक्रममा एक वर्षे कार्यक्रमहरु नआउनुलाई पनि कांग्रेस प्रवक्ता शर्माले विसंगति भनेका छन ।

प्रतिक्रिया दिनुहोस्