के–के हुन् राजपाको चुनावी अस्त्र ?


भदौ ८ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको निर्वाचनमा सहभागी हुने टुंगो गरेसँगै राजपाले मधेसका मतदातालाई आकर्षित तुल्याउने नयाँ मुद्दा र नारा तय गर्ने तयारीमा लागेको छ । मधेसका जनतालाई आकर्षित गर्ने नारा लिएर चुनावमा जान चाहेको राजपाले चुनाव जित्नका निम्ति कतिपय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्ने संकेत पनि दिएको छ ।

सरकारले संविधान संशोधन विधेयक मतदानमा नलगेकोमा असन्तुष्ट देखिँदै आएको राजपाले संशोधन विधेयक फेल भएपछि निर्वाचनमा जाने टुंगो गरेको हो । अहिले राजपा त्यही मुद्दा लिएर चुनावमा जान लागिरहेको छ । त्यसका निम्ति राजपाले संशोधन विधेयकको विपक्षमा उभिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई दोषी ठहर गर्दै २ नम्बर प्रदेशको चुनावमा उक्त विषयलाई उछाल्ने तयारीसमेत गरिरहेको बुझिएको छ । विगतदेखि नै एमालेलाई मधेस विरोधी सावित गराउन अथक प्रयत्न गर्दै आएको राजपाले मधेसमा एमालेको बढ्दो लोकप्रियतालाई छेक्न संशोधन विधेयक असफल भएको विषयलाई चुनावी मुद्दा बनाउने देखिएको छ ।

विगतदेखि नै मधेसका जनताबीच आकर्षक नारा दिने तर त्यसलाई कार्यान्वयनमा ल्याउन नचाहने राजपाले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्न स्वायत्त मधेस प्रदेशको मुद्दालाई फेरि सतहमा ल्याएको छ । राजपाले चुनावलाई नै आधार बनाएर स्वायत्त मधेस प्रदेश र आत्मनिर्णयको अधिकारको कुरा उठाएको छ । यसअघि स्वायत्त मधेस प्रदेशको मुद्दालाई छाडिसकेको राजपासँग पछिल्लो समय चुनाव–केन्द्रित मुद्दाहरु खासै नरहेका हुँदा स्वायत्त मधेस प्रदेशको मुद्दा ब्युँझाएको हो ।

यसअघि माओवादी केन्द्रले पनि स्वायत्त मधेस प्रदेशको कुरा उठाएको थियो । २ नम्बर प्रदेशकै चुनावलाई आधार बनाएर माओवादी केन्द्रले उक्त विषय उठाउनुका साथै मधेस हेर्ने जिम्मा पाएका सो पार्टीका नेता मातृका यादवलाई स्वायत्त मधेस प्रदेशबारे अध्ययन गर्न जिम्मासमेत दिएको छ । माओवादी केन्द्रले मधेसमा आफ्नो प्रभाव विस्तार गर्न उक्त मुद्दा उठाए पनि राजपाले भने सोही मुद्दालाई लिएर चुनावमा जाने टुंगो गरेको छ ।

राजपाले आकर्षक मुद्दा र नारा लिएर चुनावमा जाने घोषणा गरे पनि सो पार्टीभित्रका एउटा समूहको असन्तुष्टिलाई भने अझै टाल्न सकेको छैन । राजपा गठन भएदेखि नै असन्तुष्ट रहँदै आएका हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र वृजेशकुमार गुप्तालगायत प्रभावशाली नेताहरु भने राजपाको अध्यक्ष मण्डलको कार्यशैलीलाई लिएर असन्तुष्ट रहँदै आएका छन् । असन्तुष्टिकै कारण पदाधिकारीको बैठकमा समेत ती नेताहरु जान छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्